
महोत्तरी, २७ कात्तिकः मटिहानी नगरपालिकाको बिग्ही नदी किनारमा झण्डै दुई किलोमिटर लम्बाइको छठ घाट तयार भएको छ । उक्त घाट नेपाल र भारतको संयुक्त छठ घाट हो ।
सांस्कृतिक परम्पराले एक सूत्रमा बाँधिएका दुवै देशका नागरिकले आपसी हेलमेलसाथ पर्व मनाउने परम्पराको यो उदाहरणीय दृष्टान्त भएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले राससलाई बताउनुभयो ।
बिग्ही नदी किनारको वारीपारी बनेको यो नेपालतर्फ महोत्तरीको मटिहानी र धनुषाको तुलसीयाही तथा भारतको मधवापुर र रामपुरका बर्तालुको संयुक्त घाट हो । “सीमाले दुई देश छुट्याए पनि दुवै देशका सांस्कृतिक सम्बन्ध प्रगाढ छन्, छठ नेपाल र भारतका नागरिकले एउटै घाटमा मनाउने संस्कृति हामीले बसालेका छौँ”, नगरप्रमुख मण्डल भन्नुहुन्छ, “यो आपसी प्रगाढ सम्बन्धको अनुपम दृष्टान्त हो ।”
घाट निर्माणमा हुने खर्चमा पनि दुवै देशका नागरिकको समान भागिदारी हुने गरेको मण्डलले स्पष्ट पार्नुभयो । भारततिरको मधुवनी जिल्लामा पर्ने मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम झा देशको सीमाले राष्ट्रियता छुट्याए पनि हाम्रा समान संस्कृति छन् भन्ने यो घाटले दर्शाएको बताउनुहुन्छ ।
नेपालीमै बोलचाल गर्ने झाले भन्नुभयो, “दशगजाले हाम्रो राष्ट्रियता छुट्याएको छ, तर हाम्रा भाषा, संस्कृति, परम्परा र चाडबाड साझा छन् ।” मानवीय संवेदना र सांस्कृतिक परम्पराका कुरामा कसैले नेपाली र भारतीय भनेर छुट्याउने अवस्था नरहेको झाले स्पष्ट पार्नुभयो ।
नेपाल भारत दुवैतर्फका सीमाक्षेत्रका बासिन्दा बिग्ही घाटमा केही वर्षयता सँगसँगै एउटै घाटमा पर्व मनाउँदै आएका छन् । यसले दुवै देशका नागरिकबीचको सम्बन्धसँगै आपसी दुःखसुखमा पनि साथ उभिने संस्कृति निर्माण गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण लाल कर्ण बताउनुहुन्छ ।
नेपाल भारतको यो संयुक्त छठ घाटमा दुवैतर्फका कलाकर्र्मीले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेका छन् । छठ पर्व यस ठाउँका लागि आपसी अन्तर्घुलनको एक अपूर्व अवसर बन्ने गरेको दुवैतर्फका सर्वसाधारण बताउँछन् ।
चार दिने महापर्व ‘छठ’ यसपाला आज ‘नहाय खाय’ विधिसँगै सुरु भएको छ । अब शनिबार खरना, आइतबार निराहार व्रतका दिन अस्ताउँदा सूर्यलाई अघ्र्य दिइने सझियाघाट र सोमबार बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिइने पारनका विधि सम्पन्न गरिएसँगै यसपालिको छठ समापन गरिने छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |