
सिन्धुपाल्चोक, २७ कात्तिकः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
खामादिङ खोलामाथि बाह्रबिसे नगरपालिका–१ घुङ्गा र त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली–लप्से जोड्ने पुल निर्माण भएपछि दुवै पालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
बाह्रबिसे नगरपालिका–१ का वडाध्यक्ष आङ्दोर्जे शेर्पाका अनुसार पुल निर्माणअघि वर्षायाममा बाढी, पहिरो र खोलामा पानीको बहाव बढ्दा स्थानीयलाई आवतजावत गर्न कठिनाइ हुने गरेको थियो । विशेषगरी विद्यालय जाने विद्यार्थी बढी प्रभावित हुने गरेका थिए ।
“यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी मात्र नभई विभिन्न स्थानबाट आउने मानिसलाई पनि वर्षायाममा आवतजावत गर्न समस्या थियो”, उहाँले भन्नुभयो, “पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।”
पुल नहुँदा बजार जानसमेत लामो र अप्ठ्यारो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय रमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिले डेढ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था रहेकामा पुल बनेपछि आवतजावत सहज भएको छ । पुलले स्थानीयको दैनिक आवतजावत सहज बनाउनुका साथै दुई पालिकाबीचको सम्पर्कसमेत बलियो बनाएको छ ।
प्राकृतिक तथा ग्रामीण सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि पुलले सहयोग पुर्याउने अपेक्षा गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताउनुभयो । उहाँले पुल निर्माणले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन र पर्यटकीय गन्तव्यसम्मको पहुँच सहज बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |