
धनकुटा, २४ कात्तिकः छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तराद्र्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरु प्रायः सम्झनामै सीमित हुने गर्छन् ।
यद्यपि यस वर्षको तिहारमा भने धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा फरक रौनक छायो । धनकुटा नगरपालिका वडा नं ९ मुलघाटस्थित वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेका छन् ।
कलाकारहरूको गीत र सङ्गीतमा वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि रमाउँदै नाचेका थिए । केहीका आँखा रसाए, केहीका ओठमा मुस्कान छायो । वरिष्ठ लोकगायक तुलसी पराजुलीको नेतृत्वमा २० जना कलाकार वृद्धाश्रम पुगेका थिए ।
टोलीमा ७६ वर्षीया गायिका टीकादेवी पराजुलीसहित मेघराज घिमिरे, दुर्गा पराजुली, नगेन्द्र कटुवाल, मेखराज कार्की, रमेश अधिकारी र तारा ढकाललगायत कलाकार सहभागी हुनुहुन्थयो ।
गायक पराजुलीले देउसीभैलोसँगै आफ्ना चर्चित गीत ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘कान्छीको छाता ढल्काइदेऊ यता’ र ‘सालैज्यू सालैज्यू’लगायत करिब एक दर्जन गीत प्रस्तुत गर्नुभएको थियो ।
कलाकारहरूको प्रस्तुतिले वृद्धाश्रमको वातावरण निकै उल्लासमय बनेको स्थानीय संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । ‘परदेशबाट फर्की आयौँ, आफ्नै देशको माटो सम्झेर…’ भन्ने गीत गुञ्जिरहँदा विश्रान्ति आमा समूहकी सक्रिय सदस्य उर्मिला श्रेष्ठ भावुक बन्नुभयो ।
उहाँले आँसु रोक्न सक्नुभएन । गायक पराजुलीको प्रस्तुतिमा वृद्धाश्रमका ज्येष्ठ नागरिक तथा सहभागीहरू नाच्दै र गाउँदै रमाएका थिए । गायिका टीकादेवी पराजुलीले ७६ वर्षको उमेरमा हालै रेकर्ड गराएको गीत प्रस्तुत गर्दा सबैले उत्साहपूर्वक साथ दिएका थिए ।
मेघराज घिमिरेले हुर्रा भाकाका गीतमार्फत सहभागीलाई नचाउनुभयो भने गायक दुर्गा पराजुलीले पनि आफ्ना चर्चित गीत सुनाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
वृद्धाश्रममा डेढ दशकदेखि बस्दै आएकी चितवनकी सुशीला वैद्यका लागि यो कार्यक्रम अविस्मरणीय बन्यो । आफन्तजन हुँदाहुँदै पनि भेटघाट गर्न नआउने गरेको पीडा सुनाउँदै उहाँले लामो समयपछि मनैदेखि खुसी हुने अवसर पाएको बताउनुभयो ।
“म यहाँ आएको यत्तिका वर्षपछि आज मनदेखि नै खुसी भएर रमाइलो गर्न पाएँ”, उहाँले भन्नुभयो, “चाडपर्वमा नदी किनारमा बसेर आफन्त सम्झँदै आँसु खसाल्दा मन हलुका बनाएकी छु ।”
वाकरको सहायताले हिँडडुल गर्ने वैद्य पनि गीतको तालमा हात हल्लाउँदै कलाकारलाई साथ दिइरहनुभएको थियो । भोजपुर घर भएकी ७५ वर्षीया सीता तामाङले भने प्रायः सबै गीतमा नाचेर आफ्नो उत्साह देखाउनुभयो ।
उहाँ पनि केही वर्षदेखि वृद्धाश्रममै बस्दै आउनुभएको छ । विगतका तिहारमा अन्यत्र देउसीभैलो खेल्दै आएका कलाकार यस वर्ष वृद्धाश्रमका आमाबुबासँगै रमाउन पाउँदा आफूहरूलाई विशेष आत्मसन्तुष्टि मिलेको बताउनुहुन्छ ।
“परिवारबाट टाढिएका व्यक्तिको अनुहारमा खुसी ल्याउन पाएको महसुस भएको छ”, गायक तुलसी पराजुलीले भन्नुभयो, “उहाँसँगै देउसी खेल्न पाउँदा मनैदेखि खुसी लागेको छ । आत्मसन्तुष्टि मिलेको छ ।”
मनोरञ्जनसँगै कलाकार टोलीले वृद्धाश्रमलाई आर्थिक तथा खाद्य सामग्री सहयोगसमेत गरेको छ । टोलीले रु २२ हजार नगदसहित खाद्यान्न र फलफूल वितरण गरेको हो । गायक पराजुलीको परिवारका तर्फबाट रु ११ हजार १०० सहयोग प्रदान गरिएको थियो ।
समाजसेवी प्रताप थापा, सुमन तामाङलगायतले वृद्धाश्रमका लागि आर्थिक सहयोग गर्नुभएको थियो । सहयोगी दातालाई विश्रान्तिका सल्लाहकार स्वामी विजयानन्द सरस्वती, व्यवस्थापक पद्मप्रसाद काफ्ले, कार्यवाहक महासचिव पुष्करप्रसाद जोशी र क्रियाशील सदस्य दिनेश श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभएको थियो । वृद्धाश्रमका तर्फबाट कलाकार टोलीलाई समेत सम्मान गरिएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |