
दैलेख, २३ कात्तिक : दैलेखको जनजीवन, लोकभाका र इतिहास बोकेको परम्परागत मौलिक लोकनृत्य ‘भोसो’ ले यति बेला गाउँ घरमा बेग्लै रौनक र उत्साह भरेको छ ।
ऐतिहासिक घटनाक्रम, पुराना शासकका कथा र पुर्खाको वीरतालाई लोकभाका मार्फत प्रस्तुत गरिने भोसो नृत्य र यसमा गाइने गीतमा स्थानीय समाजको सुख–दुःख, खेतीपाती, ऋतु परिवर्तन र श्रम प्रतिको सम्मान झल्कने हुँदा आपसी सद्भाव, भाइचारा र सामुदायिक एकता बढाउने काम विश्वास गरिदैआएको छ । कर्णाली प्रदेशका दैलेख, जुम्ला, कालिकोट र जाजरकोटका जिल्लामा तिहारसँगै उक्त पर्व अनुपम रुपमा मनाइँदै आएको छ । विशेष गरी दैलेखका विभिन्न बस्तीमा कातिक कृष्ण चतुर्दशीको रात भोसो नृत्य र मौलिक भाका घन्काइने परम्परा छ ।
जिल्ला सदरमुकाम नजिकैको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा र ऐतिहासिक क्षेत्र दुल्लु लगायतका गाउँमा उक्त प्राचीन संस्कृति आज पनि उत्तिकै जीवन्त छ । आदिकालदेखि मौलिक रूपमा जोगाइँदै ल्याइएको छ । यो पर्वलाई स्थानीय भाषामा एकदिने खेल पनि भन्ने गरिएको छ ।
स्थानीय जेष्ठ नागरिकका अनुसार भोसोको सुरुआत पौराणिक कथासँग जोडिएको छ । भगवान विष्णुले राजा बलीको अत्यधिक घमण्ड तोड्नका लागि उनलाई पाताल पठाएको प्रसङ्गबाट यो परम्परा सुरु भएको जन विश्वास छ । भोसो व्यवस्थापन गर्ने मुख्य व्यक्ति (मूली) लाई ‘नायक’ र भोसो खेल्ने सहभागीलाई ‘भुआरा’ भनिन्छ ।
रातको अँध्यारोमा सल्लाको दियालो (झोरो) बालेर साल वा बाँसबाट निर्मित सुन्दर ‘कोठी’ तयार पारिन्छ । चार जना भुआराले त्यो बलिरहेको कोठीलाई काँधमा बोक्ने र गाउँ भरिका मानिस भोसो गाउँदै अघि पछि गर्दै गाउँ परिक्रमा गरिन्छ । कात्तिक कृष्ण चतुर्दशीको रातभर खेलिने उक्त भोसो लक्ष्मी पूजाको बिहानै नजिकैको नदी, धारा वा तोकिएको ‘भुवाखाडा’ मा लगेर सेलाउने परम्परा छ । सेलाएपछि लक्ष्मीपूजाको दिन धमारी, चुट्का र मारुनी गाउँदै घरघरमा भैलो तथा सिलङ्गी डाली खेल्ने गरिन्छ ।
विगतमा भोसो खेलका क्रममा परम्पराअनुसार केही अप शब्द वा गाली गलौजका शब्द प्रयोग हुने गरेकामा पछिल्लो समय भने त्यसमा सुधार आएको छ । नारायण नगरपालिका– २ का ज्येष्ठ सदस्य लालबहादुर थापाका अनुसार अग्रजको प्रेरणाले निरन्तर जोगाइएको भोसोमा पहिले प्रयोग हुने अप शब्द हटेर अत्यन्तै मर्यादित र सभ्य बन्दै गएको छ ।
सामाजिक एकता र आपसी
समाजका कमीकमजोरी हटाउँदै हार्दिकताको सन्देश दिने भोसोलाई जीवन्त राख्न पछिल्लो समय चुनौती थपिएको छ । जेष्ठ नागरिक थापा भन्नुहुन्छ, हामीले मेला–पर्वहरूमा मौलिक लय र शब्दहरू सुनेरै जोगायौँ, अब पुर्खाको यो अमूल्य धरोहर जोगाउने र अघि बढाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ ।
पूर्वप्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले नयाँ पुस्तामा बढ्दो विदेशी संस्कृतिको प्रभाव र अनुशासनको कमीले मौलिक संस्कृतिको पुस्तान्तरण चुनौती पूर्ण बन्दै गएको बताउनुहुन्छ । अग्रज, समकक्षी र नवयुवा पुस्ताले यस्ता मौलिक पहिचान र संस्कृति जोगाउन निरन्तर सामूहिक प्रयासको आवश्यकता उहाँ औँल्याउनुहुन्छ । त्यस्तो मौलिक संस्कृतिले समाजमा बन्धुत्वको बलियो सन्देश दिने भएकाले संरक्षणका लागि नयाँ पुस्तालाई अभ्यस्त तुल्याउँदै लैजानुपर्नेमा पूर्वजनप्रतिनिधि शर्माको जोड छ ।
भोसो पर्व मनोरञ्जन मात्र नभएर धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य बोकेको स्थानीय पहिचान भएकाले यसले सामाजिक सद्भावलाई अझ कसिलो र प्रगाढ बनाउँदै लगेको स्थानीयको निष्कर्ष छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |