
वीरगन्ज (पर्सा), २४ कात्तिक: प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब रु तीन लाख ५० हजारबराबरका पटाका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले यही कात्तिक २१ गतेदेखि हालसम्म विभिन्न स्थानबाट खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम, झिरझिरेलगायतका पटाका तथा आतिशबाजीजन्य पदार्थ नियन्त्रणमा लिई बरामद गरेको हो ।
साथै पटाका, आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थअन्तर्गत पर्ने र कानुनद्वारा उक्त पदार्थको उत्पादन, भण्डारण, बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पटाका, आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थको प्रयोगले जनधनको क्षति आगलागी र वातावरण प्रदूषणजस्ता समस्या सिर्जना गर्ने भएकाले पटाका आतिशजन्य पदार्थको उत्पादन, भण्डारण, बिक्रीवितरण, ओसारपसार र प्रयोग नगर्न अनुरोध गरिन्छ ।”
प्रहरीले बालबालिकालाई विस्फोटक पदार्थको गतिविधिमा संलग्न नगराई सम्भावित जोखिमबाट बचेर सुरक्षित र हर्षोल्लासका साथ चाडपर्व मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
सोमबारमात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको छ ।
कुन्दनको मृत्युपछि प्रहरीले उक्त पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ । सीमावर्ती क्षेत्रमा हुने पटाकाको अवैध कारोबार नियन्त्रण गर्न प्रहरी गस्ती तथा निगरानीलाई प्रभावकारी बनाइएको छ ।
प्रहरीले यसअघि असोज २६ गते चाडपर्वको समयमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन अनुरोध गरेको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |