
नवलपुर (नवलपरासी), २३ कात्तिकः मौरीको चरीचरन क्षेत्र खोज्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का मौरीपालक किसानहरू लुम्बिनी प्रदेशको विभिन्न जिल्ला पुगेका छन् । पश्चिम नेपालको दाङ, बाँके, प्युठान, कपिलवस्तुलगायत जिल्लामा नवलपुरमा भन्दा करिब एक महिना अगाडि नै तोरी फुल्ने भएकाले यहाँका किसान मौरी चराउने क्षेत्र खोज्दै दाङसहित ती जिल्लामा पुग्ने गरेका हुन् ।
जिल्लाको देवचुली–९ मा रहेको देवचुली मौरीपालन स्रोत केन्द्रका सञ्चालक राजेन्द्र रावलले यहाँ तोरीलगायतका अन्नबाली ढिला फुल्ने तथा किसानले आफ्नो अन्नबालीमा विषादीको प्रयोग धेरै गर्दा मौरीपालक किसान मौरी बोकेर डुल्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । मौरीका लागि चरीचरन खोज्दै हरेक वर्ष मौरी चराउन जिल्ला बाहिर लैजानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । मौरी चराउन लैजान र ल्याउन साह्रै गाह्रो हुने गरेको उहाँको भनाइ छ ।
मौरीको घारलाई ट्रकमा राखेर रातिको समयमा दाङसम्म पुर्याउने गरेको सञ्चालक रावलले बताउनुभयो । मौरी लैजाने र ल्याउने गर्दा नै एउटा याममा रु एक लाखभन्दा बढी खर्च हुने गरेको भन्दै उहाँले मौरी चराउन लैजाँदा विभिन्न जिल्लामा वनलाई समेत पैसा तिनुपर्ने गरेको गुनासो गर्नुभयो । कात्तिकदेखि फागुनसम्म प्राकृतिक रूपमा फूल फुल्ने समय भएकाले यो समयमा मौरीले धेरै मह उत्पादन गर्ने सञ्चालक रावलको भनाइ छ ।
विजय मौरीपालक फार्मका सञ्चालक तेजबहादुर रानाले मह उत्पादन र खपत हुने हिउँदको समयमा सरकारले विदेशबाट मह आयात गर्दा स्वेदशी मौरीपालक किसान मर्कामा पर्ने गरेको बताउनुभयो । “सरकारले नीति बनाएर नै नेपाली किसानको मह बिक्री नभएसम्म मह आयात गर्न नपाइने अवस्था सिर्जना गर्नुपर्छ” उहाँले भन्नुभयो, “नेपालमा प्राकृतिकरुपमा शुद्ध मह उत्पादन हुने भएकाले गुणस्तरीय हुने भन्दै आयात गरिएका मह गुणस्तरीय नहुने गरेको प्रयोगशालाबाट समेत पुष्टि भएको छ ।” सरकारको अनुगमन संयन्त्रले जिल्लामा गरेको अनुगमनका क्रममा विभिन्न बहुराष्ट्रिय कम्पनीको ट्याग राखेर बिक्री भइरहेको मह गुणस्तरहीन भेटिएको सञ्चालक रानाको भनाइ छ ।
“किसानको मह बिक्री नहुनु एउटा समस्या हो भने उपभोक्ताले गुणस्तरहीन मह उपभोग गर्नुपर्ने अवस्था अर्को गम्भीर स्वास्थ्य समस्या हो”, उहाँले भन्नुभयो, “सरकारले उपभोक्ताको हित र किसानको हितलाई ध्यानमा राखेर मह आयातको नीति लिनुपर्छ ।”
किसानले विभिन्न स्थानमा मौरी डुलाएर प्राकृतिक रूपमा गुणस्तरीय मह उत्पादन गर्दा पनि बजार नपाउनु राष्ट्रिय समस्या भएको सञ्चालक रानाले बताउनुभयो । मध्य नेपालबाट पश्चिम नेपालको कपिलवस्तु, दाङलगायतका क्षेत्रमा अगौटे तोरी हुने र विषादी पनि नछर्ने भएकाले हिउँदको समयमा मौरी चराउन लैजाने गरेको उहाँ बताउनुहुन्छ ।
मौरीपालनबाट पर्याप्त आम्दानी हुने भए पनि किसानको मह बिक्रीमा समस्या रहेको सञ्चालक रानाले बताउनुभयो । मौरीपालन व्यवसाय एकै ठाउँमा गरेर नहुने भएकाले फूल फुल्ने ठाउँमा मौरी डुलाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । जाडोयाममा महको उत्पादन र माग धेरै हुने भएकाले पहिला नेपाली मह बिक्री गर्ने वातावरण सरकारले तयार गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
गैँडाकोट मौरी फार्मका सञ्चालक नारायण प्रसाद आचार्यले व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानले एउटा घारमा १० वटा फ्रेम बनाएर मौरी राख्ने गरेको बताउनुभयो । प्रतिघार बर्सेनि ५० किलोसम्म मह उत्पादन हुने गरेकोमा पछिल्लो समय मह उत्पादनमा गिरावट आएको उहाँले बताउनुभयो । पछिल्लो समय मौरी चराउन लैजादा समेत आफूहरूले समस्या झेल्नुपरेको सञ्चालक आचार्यको भनाइ छ ।
“मैले विगतमा बर्सेनि मौरी पाल्न दाङ तथा रोल्पासम्म पु¥याउने गरेको थिएँ” सञ्चालक आचार्यले भन्नुभयो, “केही वर्ष अगाडि त्यहाँका मौरी किसानले विषादी हालिदिएका कारण मेरो धेरै घार मौरी मरे ।” त्यसपछि दाङको देउखुरी क्षेत्रमा मौरी चराउन लैजाने गरेको भए पनि यस वर्ष नवलपुर तथा चितवनमा नै मौरी चराउने योजना आचार्यले सुनाउनुभयो । किसानहरूले किसानका कुरा नबुझ्दा आफूहरूको व्यवसाय सङ्कटमा पर्ने अवस्था सिर्जना भएको भन्दै आचार्यले चरण क्षेत्र निर्धारण भएमा व्यवसाय फस्टाउने बताउनुभयो ।
मह पर्याप्त उत्पादन हुने भएकाले नेपालका व्यावसायिक मौरीपालक किसानले विकासे मौरी (एपिस मेलिफेरा, एपिस सेरेना प्रजातिका मौरी) पालन गर्दै आएका आएका छन् । तोरी फुल्ने समयमा मह उत्पादनमा सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको उनीहरूको गुनासो छ । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनियाँ, ज्वानो, मेथी, चिउरी, भोर्लेजस्ता मौरीले रस पाउने बोटबिरुवा चरनका लागि ठीक हुने भए पनि किसानले खेती गर्नसमेत छाडेका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |