
कास्की, १७ कात्तिकः पोखरा महानगरपालिका–१३ का कृषक शुक्रराज तिमिल्सिनाले यस वर्ष तिहारलाई लक्षित गरी दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ ।
गणेश कृषि फार्मका सञ्चालक तिमिल्सिनाले पशुपालन र तरकारी खेतीसँगै तीन वर्षदेखि फूल खेतीलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको हो । गत वर्ष एक रोपनी जमिनमा सयपत्री फूल खेती गरेर राम्रो आम्दानी भएपछि उहाँले यस वर्ष खेती विस्तार गर्नुभएको हो ।
“गत वर्ष एक रोपनीमा फूल लगाएर करिब रु एक लाख कमाएँ । यस वर्ष पहिलाको भन्दा दोब्बर क्षेत्रफलमा खेती गरेको छु । फूल पनि राम्रो भएको छ । आम्दानी पनि राम्रो हुने अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो ।
तिमिल्सिनालाई उत्पादित फूल बिक्री गर्न खासै समस्या छैन । कतिपय ग्राहक नर्सरीमै पुगेर आफूलाई आवश्यकपर्ने फूल खरिद गर्ने गरेका छन् । बाँकी फूल तिहार नजिकै आयोजना हुने पुष्प प्रदर्शनी तथा सयपत्री फूल मेलामा लगेर बिक्री गर्ने उहाँको योजना छ । फूल मेलाले स्थानीय कृषकलाई आफ्नो उत्पादन एकै ठाउँबाट उपभोक्तासम्म पु¥याउन सहज बनाउने उहाँको विश्वास छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले यस वर्ष नवौँ संस्करणको गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौँ संस्करणको गण्डकी प्रादेशिक पुष्प एवं सयपत्री फूल मेला आयोजना गर्न लागेको छ ।
यही कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रङ्गशालास्थित खेल मैदानमा आयोजना हुने मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलसहित विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीमा राखिनेछन् । तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्नेछ ।
स्थानीय फूल उत्पादक कृषकलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सिर्जना गर्ने उद्देश्य मेलाको छ ।
एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार तिहार तथा छठ पर्वका अवसरमा फूलका पारखी र उपभोक्तालाई सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला महत्वपूर्ण रहेको बताउनुभयो ।
“तिहार तथा छठ पर्वका समयमा पुष्पका पारखी र ग्राहकलाई सहज रूपमा फूल तथा बिरुवा उपलब्ध गराउन मेला सहयोगी हुँदै आएको छ । फूल तथा बिरुवाप्रति अभिरुचि राख्ने र यससम्बन्धी ज्ञान हासिल गर्न चाहनेका लागि मेला उपयोगी हुँदै आएको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार संस्थामा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायी फूल उत्पादन र बिक्रीवितरणमा आबद्ध छन् । यस वर्ष मेलामा २२ वटा व्यावसायिक प्रदर्शनी कक्ष, तीन वटा कृषि सामग्रीसम्बन्धी स्टल र एउटा सूचनामूलक प्रदर्शनी कक्ष गरी कूल २६ वटा प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा विगत वर्षदेखि व्यावसायिक रूपमा उत्पादन हुँदै आएका विभिन्न जात र प्रजातिका गोदावरी फूलका बिरुवाका साथै यस वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी फूल राखिनेछन् ।
मेलाले पुष्प व्यवसायीलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै उपभोक्तालाई विभिन्न प्रजातिका फूल तथा बिरुवाबारे जानकारी लिन र खरिद गर्न सहज बनाउने एसोसिएसनका सचिव खिमलाल सुवेदीले बताउनुभयो ।
तिहारमा फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन मेलाले प्रोत्साहन गर्ने विश्वास उहाँको छ । पोखरामा वार्षिक रूपमा रु दुईदेखि रु तीन करोड बराबरको फूल कारोबार हुने गरेको महानगरपालिकाले जनाएको छ । यस वर्ष महानगरभित्र करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहरप्रसाद कडरियाका अनुसार पोखरामा खपत हुने फूलमध्ये करिब ७० प्रतिशत स्थानीय उत्पादनले धान्ने अवस्था छ ।
महानगरपालिकाले बीउमा अनुदान, मल्चिङ प्लास्टिक तथा खेती प्रविधिमा सहयोग गर्दै आएपछि स्थानीयस्तरमा फूल उत्पादन बढ्दै गएको उहाँले बताउनुभयो । “अन्य बाली छाडेर फूलखेती गर्ने कृषकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । पोखरामा उत्पादित फूलले माग धान्न नसक्ने अवस्थामा छिमेकी पालिका र जिल्लाबाट फूल ल्याउने गरिएको छ”, उहाँले भन्नुभयो ।
स्थानीय कृषकले घरायसी प्रयोजनका लागि गाउँघरमा उत्पादन गर्ने फूललेसमेत बजारको माग पूरा गर्न सहयोग पु¥याउँदै आएको महानगरपालिकाले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |