
सप्तरी, १२ कात्तिकः मधेसका जिल्लाहरूमा पितृलाई स्वर्गमा पठाउन जनविश्वाससहित खेलिने ‘हुक्कापाति’ को तयारी सुरु भएको छ । लक्ष्मीपूजाको दिन घरमा पूजा सकेर सन्ठी, सनपाट र खरले बनाएको हुक्कापाति खेल्ने चलन रहिआएकाले यहाँका स्थानीयले तयारी थालेका हुन् ।
लक्ष्मी पूजा गर्ने बेलामा कलशमा बालिएको दियोबाट सल्काएर हुक्कापाति खेल्ने चलन परापूर्वकालदेखि रहँदै आएको मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्रले बताउनुभयो । “घरमा भएका सबै पुरुष सदस्यका लागि हुक्कापातिको व्यवस्था गरिन्छ । लक्ष्मीपूजा सकिएलगत्तै घरमूली पुरुषले अघिअघि र अन्य सदस्यले पछिपछि एउटाएउटा हुक्कापाति बोकेर बलिरहेको दियोमा सल्काउँछन् । त्यो हुक्कापाति प्रत्येक कोठामा देखाउँदै धान र दुबो छर्कने गरिन्छ । अन्त्यमा सबैले बोकेको हुक्कापाति एकै ठाउँमा बालिएको आगोमा फालेर यो खेल खेल्ने परम्परा छ”, उहाँले भन्नुभयो ।
आफूलाई सम्झना भएदेखि निरन्तर हुक्कापाति खेल्दै आए पनि किन खेलिन्छ ? भन्ने अहिलेसम्म प्रस्ट नभएको राजविराज नगरपालिका-८ का मनोज दासले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तौँदेखि खेल्दै आइएको परम्परा भएकाले यसलाई निरन्तरता दिँदै आएका छौँ । तराई-मधेसका अधिकांश युवाले अनिवार्य रूपमा हुक्कापाति खेल्दै आएका छन् । पितृलाई स्वर्गमा पठाउने जनविश्वास रहेकाले पनि यसलाई निरन्तरता दिँदै आएका हौँ ।”
प्राचार्य राजीव झाका अनुसार पितृलाई स्वर्गलोकमा पठाउन मधेसमा हुक्कापाति खेल्ने चलन रहिआएको जनविश्वास छ । “दसैँअघि हुने सोह्रश्राद्धमा पितृहरू मृत्यु लोक आएपछि लक्ष्मीपूजासम्म फर्केर गएका हुँदैनन् । उहाँहरूलाई यतै रमाइलो लाग्न थाल्छ । त्यसैले पुनः फर्किन चाहँदैनन् । उहाँहरूलाई पुनः स्वर्ग जाने बाटो देखाउनका लागि हुक्कापाति खेल्ने परम्परा चलेको जनविश्वास छ,” उहाँले भन्नुभयो । हुक्कापाति खेलिसकेपछि पितृहरू स्वर्ग लोक जाने जनविश्वास रहेकाले लक्ष्मीपूजाको दिन हुक्कापाति खेल्ने गरिएको प्राचार्य झाले बताउनुभयो ।
“अहिले पितृको क्रियाश्राद्ध कतैकतै छोरीले पनि गर्न थालेका छन् । पहिले छोराले मात्र गर्दै आएकाले हुक्कापाति खेलेर पितृलाई स्वर्ग पठाउने काममा बढी मात्रामा हाम्रा पुर्खाले छोरा मान्छेलाई सहभागी गराउँदै आएका थिए,” मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष मिश्रले भन्नुभयो । पुस्तान्तरण र संस्कृतिको संरक्षणका लागि पनि यस्ता मौलिक परम्परालाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |