
पाल्पा, ११ कात्तिकः पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो ।
महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो । तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ ।
विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ । रानीमहलको आँगनमा बाढीको चोट देखिन्छ भने आसपासका स्थानीयका सपना बगरमा छरिएका छन् ।
प्रेमको प्रतीकका रूपमा परिचित रानीमहलको सुन्दरता नियाल्न आउने पर्यटकको चहलपहलले जीविकोपार्जनको आधार बनाएका स्थानीय व्यवसायी अहिले आफ्नै व्यवसाय पुनः सञ्चालन गर्ने चिन्तामा छन् ।
बाढीले व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारसम्ममा क्षति पु¥याएको छ । रानीमहल आसपासका एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् ।
प्राकृतिक विपत्तिले व्यापार मात्रै प्रभावित गरेको छैन, वर्षौंदेखि जोडेको लगानी र भविष्यप्रतिको आशामाथि समेत चोट पु¥याएको छ ।
बाढीले व्यवसाय सञ्चालन गर्ने संरचना, सडक र पार्किङस्थल पुरिएपछि पर्यटकको आवागमन प्रभावित हुन पुग्दा व्यवसायमा प्रत्यक्ष असर पुगेको स्थानीय शङ्कर बस्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि बाढीले तहसनहस बनाउँदा दुःख लागेको छ । हरेक वर्ष दसैँको बेला रानीमहल घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्ने गरे पनि यस पटक भने रानीमहल क्षेत्र बगरमा परिणत हुँदा व्यवसाय सञ्चालन गर्नेहरु मर्कामा पर्नुपरेको छ ।”
प्राकृतिक विपत्तिपछि तत्काल सरसफाइ, क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनःस्थापनामा स्थानीय सरकारले ध्यान नदिएको उहाँको आरोप छ । बाढीले पु¥याएको क्षतिभन्दा पनि विपत्तिपछि आफ्नो पीडा बुझ्न र अवस्था अवलोकन गर्न जिम्मेवार निकायका प्रतिनिधि नआएको विषयले उहाँहरूलाई थप निराश बनाएको छ ।
बस्यालले कर सङ्कलनमा सक्रिय हुने स्थानीय सरकारले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा पनि उत्तिकै जिम्मेवारी देखाउनुपर्ने बताउनुभयो ।
रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचना हटाउने र व्यवस्थापन गर्ने काम गरेको दाबी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकाको क्षेत्राधिकारभित्र क्षति भएका संरचना तत्काल हटाइएको दाबी गर्नुभयो । उहाँका अनुसार रानीमहल दरबार परिसरमा अहिले त्यस्तो अस्तव्यस्त अवस्था छैन ।
गिरीले रानीमहल आसपास अस्तव्यस्त देखिएका केही संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रभित्र पर्ने भएकाले तिनको व्यवस्थापन सम्बन्धित गाउँपालिकाले गर्नुपर्ने बताउनुभयो ।
यता, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरेर तत्काल बाटो खुलाउने काम गरिएको बताउनुभयो ।
बाढीपछि निरन्तर वर्षा भइरहेको र त्यसलगत्तै दसैँ बिदा परेकाले व्यवस्थापनको काम तत्काल अघि बढाउन नसकिएको उहाँको भनाइ छ ।
अध्यक्ष चिदीले अबको एक–दुई दिनभित्रै डोजर पठाएर बाढीले पुरिएका सामग्री हटाउने र बगर सम्याउने काम गरिने बताउनुभयो ।
ऐतिहासिक दरबार ‘रानीमहल’लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ । जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित छ । तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं १९५४ मा रानीमहल निर्माण गर्नुभएको थियो ।
पत्नी तेजकुमारी देवीको मृत्युपछि उहाँकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गर्नुभएको हो । रानीलाई बगैँचासहितको महल निर्माण गर्ने बचन दिएका खड्ग शमशेरले भारतबाट इन्जिनियर झिकाइ पाँच वर्ष लगाएर रानीमहल निर्माण गराउनुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |