
रसुवा, ११ कात्तिकः उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो ।
त्रिशूली नदी किनारमा रहेका उपल्लो पैरेबेँसी, तल्लो पैरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायतका अति उर्वर खेतीयोग्य फाँटहरू बाढीसँगै आएको बालुवा र ढुङ्गाले ढाकिएका छन् ।
वर्षभरि खाने धान पाक्ने बेला हुन लागेका फाँटहरू एकाएक बगर बनेपछि स्थानीय बासिन्दाको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर सङ्कट उत्पन्न भएको छ ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार बाढीले गाउँपालिकाभित्रका ठूलो परिमाणको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ । अध्यक्ष अर्यालले भन्नुभयो, “भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले गाउँपालिकाका मुख्य धान उत्पादन हुने फाँट बाढीले पुरिदियो ।”
वर्षभरि खाने अन्न फल्ने जमिन बगर बनेपछि किसानहरू ठूलो सङ्कटमा परेका छन् । गाउँपालिकाले क्षतिको पूर्ण विवरण सङ्कलन गरिरहेको छ । पालिकाले पीडित किसानलाई तत्काल राहत प्रदान गर्न र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको छ ।
बाढीका कारण रसुवा जिल्लामा मात्रै अनुमानित एक हजार ८०६ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको अनुमान छ । धान थन्क्याउने मुख्य सिजनमा खेतीयोग्य जमिन नै सखाप भएपछि पीडित किसान चिन्तित छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |