Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १०, सोमबार (१ घण्टा अघि)
आलेखःकुहिरोको घुम्टोमा मानुङकोट

दमौली (तनहुँ), ९ कात्तिक ः बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका पहाडी शृङ्खला र चिसो हावाको स्पर्शले यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ । यही दृश्य हेर्न अहिले तनहुँको पर्यटकीय गन्तव्य मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

पोखराबाट मानुङकोट पुग्नुभएकी गीता पराजुलीले यहाँको बिहानलाई अविस्मरणीय अनुभवका रूपमा लिनुभयो । एक रात मानुङकोटमै बिताएर बिहान सूर्योदय र कुहिरोको दृश्य नियाल्दा आफू निकै लोभिएको उहाँले बताउनुभयो । यहाँबाट देखिने प्राकृतिक दृश्यले मनै लोभ्याउने उहाँको अनुभव छ ।

पोखराकै राधिका पराजुली पनि कुहिरोले ढपक्क ढाकेको दृश्य देखेर मन्त्रमुग्ध हुनुभयो । बिहानको समयमा चारैतिर फैलिएको कुहिरो र त्यसबीचबाट देखिने प्राकृतिक दृश्य निकै सुन्दर लागेको उहाँले बताउनुभयो । यी पर्यटकको अनुभवले मानुङकोट केवल एकछिन पुगेर फर्किने गन्तव्य मात्र नभई रात बिताएर बिहानको प्राकृतिक सौन्दर्य नियाल्न चाहनेका लागि समेत आकर्षक स्थल बन्दै गएको सङ्केत गर्छ ।

तनहुँको व्यास नगरपालिका–५ मा अवस्थित मानुङकोटमा चिसो मौसमको सुरुआतसँगै पर्यटकको आवागमन बढेको छ । बिदा मनाउन परिवार, साथीभाइ तथा समूह बनाएर आउने आन्तरिक पर्यटकका कारण यहाँको पर्यटकीय गतिविधि बढ्न थालेको हो । मानुङकोटको मुख्य आकर्षण बिहान देखिने कुहिरो र सूर्योदय हो । मौसम अनुकूल हुँदा डाँडाबाट तल फैलिएको कुहिरो, त्यसमाथि उदाउने सूर्य र टाढासम्म देखिने पहाडी भूभागले मनमोहक दृश्य सिर्जना गर्छन् । चिसो मौसम सुरु भएसँगै यहाँको वातावरण थप रमणीय बन्ने भएकाले पर्यटकको आकर्षण बढ्ने गरेको छ ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला देखिने हिमशृङ्खला र बिहानको बदलिँदो प्राकृतिक दृश्य यहाँ पुग्ने पर्यटकका लागि विशेष आकर्षण बन्ने गरेका छन् । प्राकृतिक दृश्यसँगै शान्त वातावरणमा समय बिताउन चाहनेका लागि पनि मानुङकोट उपयुक्त गन्तव्यका रूपमा चिनिँदै गएको छ । दमौली बजारबाट नजिकै रहेकाले छोटो समयको घुमघामदेखि रात बिताएर सूर्योदय हेर्ने यात्रासम्मका लागि यहाँ पुग्ने पर्यटकको रोजाइ बढेको छ ।

स्थानीय युवा अनिल अधिकारीका अनुसार पछिल्ला केही दिनयता दैनिक दुईदेखि तीन सयसम्म पर्यटक मानुङकोट पुग्ने गरेका छन् । पर्यटकको यो आवागमनले मानुङकोटमा चहलपहल बढाएको छ । बिहान सूर्योदय हेर्न पुग्ने, प्राकृतिक दृश्य नियाल्ने र तस्बिर खिच्ने पर्यटकका कारण यहाँको वातावरण थप चलायमान बनेको उहाँले बताउनुभयो ।

पर्यटकको आवागमन बढेसँगै मानुङकोट आसपासका होटल तथा अन्य व्यवसायमा पनि चहलपहल बढ्न थालेको छ । स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको उपस्थितिले स्थानीय व्यवसायलाई लाभ पुगेको छ । पर्यटकको सङ््ख्या बढ्दा होटल तथा खानपानसम्बन्धी सेवाको माग बढ्ने मात्र नभई स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत विस्तार हुन सक्छन् । पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउने व्यवसायी, सवारीसाधन सञ्चालक तथा स्थानीय उत्पादनसँग जोडिएका व्यक्तिले समेत पर्यटन गतिविधिबाट लाभ लिन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

कुहिरोसँग जोडिएको धार्मिक किंवदन्ती

मानुङकोटबाट देखिने कुहिरोको दृश्यलाई स्थानीय धार्मिक तथा सांस्कृतिक विश्वाससँग पनि जोड्ने गरिएको छ । दमौली बजारलाई कुहिरोले ढाक्ने घटनासँग महर्षि वेदव्यासका पिता पराशर ऋषि र सत्यवतीसम्बन्धी पौराणिक किंवदन्ती जोडिएको छ ।

किंवदन्तीअनुसार पराशर ऋषिले सत्यवतीसँग एकान्तमा बस्न चाहँदा लोकले थाहा नपाओस् भनेर कुहिरो उत्पन्न गराएका थिए । यही धार्मिक विश्वासका कारण दमौली र आसपासमा देखिने कुहिरोले सांस्कृतिक तथा पौराणिक महत्व समेत पाएको छ । प्राकृतिक दृश्यसँगै यस्ता किंवदन्तीले पनि मानुङकोटको पहिचानलाई थप रोचक बनाएका छन् । यहाँ पुग्ने पर्यटकले कुहिरो र सूर्योदयको दृश्यसँगै स्थानीय समाजमा प्रचलित धार्मिक विश्वास तथा सांस्कृतिक कथाबारे बुझ्ने अवसर पाउँछन् ।

सात सय रोपनीमा पर्यटकीय ग्राम बनाउने तयारी

मानुङकोटमा पर्यटकको आकर्षण बढ्दै गएपछि व्यास नगरपालिकाले यस क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्ने तयारी गरेको छ । नगरपालिकाले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गरेर मानुङकोटलाई व्यवस्थित पर्यटकीय ग्रामका रूपमा विकास गर्न लागेको हो । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार मानुङकोटलाई व्यवस्थित र दिगो पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले जग्गा एकीकरण आयोजनाको तयारी अघि बढाइएको छ ।

प्रारम्भिक अध्ययनबाट आयोजना कार्यान्वयनका लागि क्षेत्र उपयुक्त देखिएको उनले बताए । आयोजनालाई नगरपालिकाको आफ्नै जग्गा एकीकरण आयोजना कार्यान्वयन इकाइमार्फत सञ्चालन गर्ने गरी संस्थागत तयारी भइरहेको उनको भनाइ छ । “दमौली बजार नजिकै रहेको यो क्षेत्र मौलिक पहिचान र दृश्यात्मक सौन्दर्यका कारण दीर्घकालीन पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ,” लम्सालले भन्नुभयो । उहाँका अनुसार आयोजना कार्यान्वयनमा आएपछि सडक, खानेपानी, विद्युत्, पदमार्ग, पार्कलगायतका आधारभूत पूर्वाधार योजनाबद्ध रूपमा विकास गर्ने अपेक्षा गरिएको छ । यसले मानुङकोटलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आधार तयार गर्नेछ ।

जग्गा एकीकरणमार्फत बस्ती तथा पूर्वाधारलाई व्यवस्थित बनाउने योजनाले पर्यटन विकाससँगै स्थानीय बासिन्दाका लागि रोजगारी र व्यवस्थित बसोबासका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, आवश्यक पूर्वाधार निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहज हुने नगरपालिकाको विश्वास छ ।

मौलिकता जोगाउँदै दिगो पर्यटनको चुनौती

मानुङकोटमा पर्यटकको चहलपहल बढ्नु स्थानीय अर्थतन्त्रका लागि अवसर हो तर पर्यटकीय गतिविधि बढ्दै जाँदा प्राकृतिक वातावरण, स्थानीय संस्कृति र गन्तव्यको मौलिकता जोगाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।सडक, खानेपानी, विद्युत्, पदमार्ग र सार्वजनिक सुविधाको विस्तारसँगै फोहोर व्यवस्थापन, स्वच्छता, सुरक्षित आवागमन र प्राकृतिक दृश्यको संरक्षणमा ध्यान दिन आवश्यक हुन्छ । पर्यटन पूर्वाधार निर्माण गर्दा स्थानीय बासिन्दाको आवश्यकता र सहभागितालाई प्राथमिकता दिन सके विकासका लाभ समुदायसम्म पु¥याउन सहज हुने बताइएको छ ।

मानुङकोटको आकर्षण यसको प्राकृतिक स्वरूप, बिहानको कुहिरो, सूर्योदय र वरपरका हिमाली तथा पहाडी दृश्यमा निहित छ । त्यसैले पूर्वाधार विकाससँगै यी प्राकृतिक विशेषताको संरक्षण गर्न सके मात्र यहाँको पर्यटन दीर्घकालीन रूपमा टिकाउ बन्नसक्ने अहिले चिसो मौसमसँगै मानुङकोटमा बढेको पर्यटकको चहलपहलले यस क्षेत्रको पर्यटन सम्भावनालाई फेरि उजागर गरेको छ । दैनिक दुईदेखि तीन सयसम्म पर्यटक पुग्न थालेको स्थानीयको भनाइ र सात सय रोपनीमा पर्यटकीय ग्राम विकास गर्ने नगरपालिकाको तयारीले मानुङकोटको आगामी पर्यटन यात्रालाई थप व्यवस्थित बनाउने अपेक्षा जगाएको छ ।

कुहिरोको घुम्टोभित्र लुकेको दमौली बजार, क्षितिजमा उदाउने सूर्य र टाढा देखिने हिमशृङ्खलाको मोहक दृश्य नै मानुङकोटको विशिष्ट पहिचान हो । यही पहिचान जोगाउँदै आवश्यक पूर्वाधार विस्तार गर्न सके मानुङकोट तनहुँको मात्र नभई गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना छ ।

  • तनहुँ
  • दमौली
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

    बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

  • Post Thumbnail

    कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

  • Post Thumbnail

    मानव–वन्यजन्तु द्वन्द्वः वन संरक्षणसँगै सहअस्तित्वको चुनौती

  • Post Thumbnail

    कोदो खेती घट्दो, पिठोको माग उच्च

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

    तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य

    Post Thumbnail

    कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

    Post Thumbnail

    लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

    Post Thumbnail

    यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभावले वर्षा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution