Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

आलेखः दसैँका पुराना सम्झना, बदलिँदो समय

दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ६, बिहिबार (५२ मिनेट अघि)
आलेखः दसैँका पुराना सम्झना, बदलिँदो समय

लमजुङ, ५ कात्तिकः दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे । विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दसैँ मनाउन उत्साहित हुन्थे । घरआँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक छाउँथ्यो ।

अहिले समय फेरिएको छ । दसैँ अझै आउँछ, घरआँगन सजिन्छन्, आफन्त घर फर्किन्छन् र मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद लिने परम्परा कायम छ । तर, पहिले गाउँघरमा देखिने पिङको चहलपहल, सामूहिक खेलकुद र भेटघाटको रौनक धेरै ठाउँमा घट्दै गएको छ । रोजगारीका लागि गाउँ छाड्ने क्रम, आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीले दसैँ मनाउने तरिकामा परिवर्तन ल्याएका छन् ।

बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीका लागि दसैँ विगतका अनेक सम्झनासँग जोडिएको पर्व हो । उहाँको बाल्यकालमा आर्थिक अभाव थियो । वर्षमा एक जोर नयाँ लुगा पाउन कठिन हुन्थ्यो । नयाँ लुगा लगाउन पाउँदा ठूलो खुसी मिल्ने गरेको उहाँ सम्झनुहुन्छ । त्यतिबेला सबैको नयाँ कपडा किनेर लगाउने अवस्था थिएन । घरमै उपलब्ध कपडाबाट लुगा सिलाएर लगाउने चलन थियो । “एक जोर नयाँ लुगा लगाउन पाउँदा खुट्टा भूइँमा नपरेजस्तो लाग्थ्यो,” उहाँले बाल्यकाल सम्झँदै भन्नुभयो ।

त्यतिबेला दसैँमा खानपानको अवस्था पनि अहिलेको जस्तो सहज थिएन । मासु खान वर्ष दिन कुर्नुपर्ने अवस्था रहेको उहाँको अनुभव छ । अहिले खानपान र किनमेलको सुविधा बढे पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई चाडपर्व मनाउन कठिन हुने गरेको उहाँ बताउनुहुन्छ । विगतमा आर्थिक अवस्था फरक भए पनि अहिलेको जस्तो खर्च र देखासिकीको दबाब कम रहेको उहाँको बुझाइ छ । दसैँको अर्को आकर्षण पिङ थियो । गाउँका मानिस मिलेर पिङ हाल्थे । युवाहरू बाबियो सङ्कलन गरेर डोरी बाट्थे र आवश्यक काठ तथा अन्य सामग्री जुटाउँथे ।

टाढाटाढाबाट मानिस पिङ खेल्न आउने गरेको तिवारी सम्झनुहुन्छ । पिङ खेल्ने, गीत गाउने र साथीभाइसँग रमाइलो गर्ने गतिविधिले गाउँमा आत्मीयता बढाउँथ्यो । त्यतिबेला कौडा तथा अन्य परम्परागत खेल खेल्ने चलन पनि थियो । मकैका गेडा, आरुको गुठली र ढुङ्गाका साना टुक्रा प्रयोग गरेर खेलिने खेल बालबालिकाका मनोरञ्जनका माध्यम थिए । गाउँले भेला भएर खेल्ने, गफ गर्ने र गीतसङ्गीतमा रमाउने गर्थे । मनोरञ्जनका साधन सीमित भए पनि सामूहिक सहभागिताले दसैँलाई रमाइलो बनाउने गरेको उहाँको अनुभव छ ।

दसैँको तयारीमा गाउँलेबीच सहयोग र सहकार्य उत्तिकै महत्वपूर्ण थियो । घरायसी काम गर्न नसक्ने ज्येष्ठ नागरिक तथा असहायलाई अरूले सघाउँथे । परमा प्रथाअनुसार एकअर्काको काममा सहयोग गरिन्थ्यो । दसैँअघि बाटोघाटो, चौतारा र सार्वजनिकस्थल सफा गर्ने तथा मिलेर चाडपर्वको तयारी गर्ने चलन थियो । दशमीदेखि पूर्णिमासम्म आफन्तकहाँ जानेआउने र मान्यजनबाट टीका लगाउने परम्पराले पारिवारिक सम्बन्ध बलियो बनाउँथ्यो ।

अहिले गाउँको अवस्था फेरिएको छ । पढाइ, रोजगारी र अन्य अवसरको खोजीमा धेरै मानिस गाउँबाहिर गएका छन् । दसैँमा घर फर्किने पनि छोटो समय बसेर फर्किने हुँदा पहिलेको जस्तो चहलपहल नहुने गरेको तिवारीको अनुभव छ । कतिपय बालबालिका अष्टमीका आसपास गाउँ आउने र टीकाको भोलिपल्टै फर्किने गरेका छन् । पिङ खेल्ने चलन पनि पहिलेको तुलनामा कम भएको छ । मोबाइलको बढ्दो प्रयोगले परिवारका सदस्यबीचको संवाद र घरायसी काममा सहभागिता घटेको उहाँको गुनासो छ । बालबालिका मोबाइलमै व्यस्त हुँदासँगै बसेर कुराकानी गर्ने र घरको काममा सघाउने प्रवृत्ति कम हुँदै गएको उहाँ बताउनुहुन्छ । आर्थिक हैसियतअनुसार खानपान र खर्च गर्ने क्षमतामा देखिने भिन्नताले पनि चाडपर्वको अनुभूतिमा फरक पारेको उहाँको बुझाइ छ ।

पुरानो पुस्ताको सम्झना, नयाँ पुस्ताको अनुभव स्थानीय युवा सुवास गुरुङ पनि दसैँ मनाउने शैलीमा परिवर्तन आएको अनुभव गर्नुहुन्छ । उहाँका अनुसार बाल्यकालमा साथीभाइसँग गुच्चा खेल्ने, पिङ खेल्ने, नाचगान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन थियो । अहिले गाउँमा साथीभाइको सङ्ख्या कम हुँदा यस्ता गतिविधि पनि घट्दै गएका छन् ।

पहिले गाउँमा प्रचलित रङ्गटे पिङ अहिले पनि कतैकतै देखिए पनि यसको चलन निकै कम भएको गुरुङ बताउनुहुन्छ । दसैँमा साथीभाइ भेटघाट गरेर कुराकानी गर्ने र रमाइलो गर्नेभन्दा खानपान तथा मोबाइलमा समय बिताउने प्रवृत्ति बढेको उहाँको अनुभव छ । “पहिले दसैँ परम्परागत संस्कार र संस्कृतिमा आधारित भएर मौलिक ढङ्गले मनाइन्थ्यो । अहिले भने आधुनिक शैली र देखासिकीको प्रभाव बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग र वैदेशिक रोजगारीका कारण पारिवारिक भेटघाटमा कमी आएको गुरुङको बुझाइ छ । कतिपय युवा विदेशमा र परिवारका सदस्य टाढा हुँदा घरमा चहलपहल कम हुने गरेको उहाँ बताउनुहुन्छ । यसले पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुने विषयमा पनि चिन्ता बढाएको उहाँको भनाइ छ । पुराना संस्कार र संस्कृति जोगाउन युवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

आधुनिक समयलाई आत्मसात् गर्दै पुर्खाबाट प्राप्त परम्परालाई व्यवहारमा उतार्नुपर्ने उहाँको सुझाव छ । “आधुनिक समयलाई आत्मसात् गर्दै मौलिक संस्कार र संस्कृतिलाई पनि जोगाउनुपर्छ । पुर्खाबाट प्राप्त परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै लैजानसके मात्रै हाम्रो मौलिकता जीवित रहन्छ,” उहाँले भन्नुभयो । ६३ वर्षीया धङ्खु गुरुङलाई पनि पहिलेको दसैँको सम्झना ताजै छ ।

उहाँका अनुसार विगतमा दसैँ सामूहिक रूपमा मनाइन्थ्यो । गाउँका मानिस मिलेर लिङ्गे तथा रङ्गीचङ्गी पिङ हाल्ने, खेल्ने र भेटघाट गर्दै सुखदुःखका कुरा साटासाट गर्ने गर्थे । गाउँघरमा मानिसको चहलपहल हुन्थ्यो भने चाडपर्वले आपसी सम्बन्ध र आत्मीयता बढाउने अवसर प्रदान गर्थ्यो । दसैँको तयारीमा महिलाको भूमिका महत्वपूर्ण हुने गरेको उहाँ सम्झनुहुन्छ । घर लिपपोत गर्ने, घरआँगन सजाउने, बाबियो काटेर कुच्चो बनाउने तथा सालका पातबाट दुना–टपरी गाँस्नेजस्ता काममा महिला व्यस्त हुन्थे । घरायसी सामग्री आफैँ तयार पार्ने र मिलेर चाडपर्व मनाउने चलन थियो । अहिले भने यस्ता परम्परागत अभ्यास घट्दै गएको उहाँको अनुभव छ ।

गुरुङका श्रीमान् भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । लाहुरे श्रीमान् बिदामा घर फर्किने समय परिवारका लागि विशेष खुसीको क्षण हुने गरेको उहाँ बताउनुहुन्छ । श्रीमान् कहिले घर आउलान् भन्ने प्रतीक्षामा दसैँको उत्साह थपिन्थ्यो । उहाँको कमाइबाट घरपरिवार चलाउने गरिन्थ्यो । अहिले उहाँका छोरा पनि लाहुरे हुनुहुन्छ । विगतमा परिवारका सदस्य घर फर्किएपछि सबै मिलेर चाडपर्व मनाउँदाको खुसी बेग्लै हुने गरेको उहाँ सम्झनुहुन्छ । “पहिले पैसा धेरै नभए पनि गाउँमा मानिसको जमघट हुन्थ्यो । सबै मिलेर दसैँ मनाउँथ्यौँ, रमाइलो गर्थ्यौँ । अहिले पैसा भए पनि पहिलेको जस्तो गाउँमा चहलपहल र रौनक छैन,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिले रोजगारी र अवसरको खोजीमा युवा विदेशिने क्रम बढेसँगै गाउँघरमा युवा पुस्ताको उपस्थिति पातलिँदै गएको छ । विदेशमा रहेका परिवारका सदस्यले पठाएको रकमबाट दसैँ मनाउने क्रम रहे पनि पहिलेको जस्तो सामूहिक भेटघाट र रमाइलो हुन सकेको छैन । गाउँ फर्किएका युवाको भेटघाट गर्ने शैलीसमेत बदलिएको उहाँ बताउनुहुन्छ । पहिले गाउँमा भेला भएर पिङ खेल्ने, गफ गर्ने र मिलेर रमाइलो गर्ने चलन बढी भए पनि अहिले कतिपय युवा गाउँमै हुँदा पनि मोबाइलमा व्यस्त हुने गरेका छन् । यसले सँगै बसेर कुराकानी गर्ने, सुखदुःख साटासाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने अवसर घटाएको उहाँको अनुभव छ । रोजगारीका लागि गाउँ छाड्ने क्रम र बदलिँदो जीवनशैलीले पुराना संस्कार, संस्कृति र सामूहिकताको परम्परा कमजोर हुँदै गएको उहाँको चिन्ता छ ।

परम्परा जोगाउँदै समयसँग अघि बढ्ने दसैँ हिन्दू धर्मावलम्बीको प्रमुख पर्व हो । घटस्थापनादेखि सुरु हुने नवरात्रमा देवी दुर्गाको पूजा आराधना गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने चलन छ । असत्यमाथि सत्यको विजय र पारिवारिक पुनर्मिलनको सन्देश बोकेको दसैँ धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्व हो । दसैँसँग जोडिएका पिङ, परम्परागत खेल, चङ्गा उडाउने गतिविधि र सामूहिक भेटघाटले विगतमा गाउँघरको जीवनलाई जीवन्त बनाउँथे । यस्ता गतिविधि मनोरञ्जनका माध्यम मात्र थिएनन्, आपसी सहयोग, मित्रता र सामुदायिक सम्बन्ध बलियो बनाउने अवसर पनि थिए ।

अहिले यस्ता चलन सबै ठाउँमा उस्तै अवस्थामा छैनन् । कतै अझै निरन्तरता छ भने कतै घट्दै गएका छन् । बदलिँदो समयसँगै चाडपर्व मनाउने शैली फेरिनु स्वाभाविक हो तर परिवर्तनका क्रममा आफ्ना मौलिक परम्परा र सामाजिक सम्बन्धलाई बेवास्ता गर्नु उचित हुँदैन । नयाँ पुस्तालाई पुराना खेल, संस्कार र परम्पराको महत्त्व बुझाउने, ज्येष्ठ नागरिकका अनुभव सुन्ने तथा परिवार र समुदायसँग समय बिताउने अवसर सिर्जना गर्न आवश्यक छ । दसैँलाई पहिलेको जस्तै बनाउन सबै कुरा पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने होइन । आधुनिक जीवनशैली र प्रविधिको उपयोग गर्दै पनि पारिवारिक भेटघाट, आपसी सहयोग र सामूहिक खुसीलाई प्राथमिकता दिन सकिन्छ । गाउँमा रहेका परम्परागत खेल र सांस्कृतिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्न सके तिनको निरन्तरता सम्भव हुन्छ ।

दसैँ आज पनि उत्तिकै महत्त्वपूर्ण छ। तर, यसको रौनक र अनुभव समयसँगै बदलिँदै गएको छ । ज्येष्ठ नागरिकका सम्झना र युवाका अनुभवले चाडपर्व केवल खानपान र बिदामा सीमित नभई परिवार, आफन्त, छिमेकी र समुदायसँगको सम्बन्धसँग जोडिएको देखाउँछन् । त्यसैले बदलिँदो समयसँगै दसैँ मनाउने शैली परिवर्तन भए पनि यसको आत्मीयता, सहकार्य र सांस्कृतिक पहिचान जोगाइराख्नु आवश्यक छ ।

  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस

  • आलेखः विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    आलेखः विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

  • दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

  • Post Thumbnail

    यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस

    पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

    पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

    आलेखः दसैँका पुराना सम्झना, बदलिँदो समय

    आलेखः दसैँका पुराना सम्झना, बदलिँदो समय

    आलेखः विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    आलेखः विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution