
रूपन्देही, ३ कात्तिक :पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रुपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभएको छ । मर्चवार क्षेत्रको सोमबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उहाँले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताउनुभएको हो ।
मन्त्री लम्सालले चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेन सडक विस्तारको योजना अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो खण्डको पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइनेछ ।
पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको उहाँले बताउनुभयो । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको मन्त्री लम्सालको भनाइ छ ।
सडक विस्तारले स्थानीय बासिन्दाको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताउनुभयो । मन्दिरसम्म पुग्ने बाटो तथा त्यसलाई मुख्य सडकसँग जोड्ने सडक चालु आर्थिक वर्षभित्र निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । यसका साथै मुख्य सडक र ग्रामीण सडकको निर्माण तथा स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गरिने मन्त्री लम्सालले बताउनुभयो ।
अनुगमनका क्रममा स्थानीय बासिन्दाले सर्पदंश उपचार सेवासहितको अस्पताल स्थापना गर्न माग गरेपछि मन्त्री लम्सालले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न स्थानीयस्तरमै अस्पताल स्थापना आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य चौकीको स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखिने बताउनुभयो ।
त्यसैगरी, क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा आवश्यक योजनाको डीपीआर तयार गर्ने र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी कार्यान्वयनमा लैजाने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
मर्चवार क्षेत्रका विकासका आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना अघि बढाउन स्थलगत अनुगमन गरिएको सांसद कन्हैया बनियाले बताउनुभयो । अनुगमनका क्रममा स्थानीयवासीले उठाएका माग र समस्याको अध्ययन गरी सडक, स्वास्थ्य तथा शिक्षासम्बन्धी योजना कार्यान्वयनमा लैजानुपर्ने उहाँले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |