
गोरखा, २९ असोजः बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका-२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानको झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि यहाँका बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका थिए । गाउँपालिकाको आह्वानमा करिब ५० जना स्थानीय युवाले लगातार तीन दिन काम गरेपछि बाटो आंशिक रूपमा सञ्चालनमा आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
“मङ्गलबार, बुधबार र आज केरौँजा, केरौँजाबेँसी र रुन्चेत गाउँका ४०-५० जना मिलेर बाढीले ल्याएको लेदो फ्याँक्ने, ठाउँठाउँमा मुढा तेर्याउने, भर्याङ हाल्ने गरेर अलि अलि हिँड्न मिल्ने बनाएका छौँ”, उहाँले भन्नुभयो, “बाटो खुलेपछि रोकिएर रहेका १०० जना जति भर्याङ र डोरीको सहायताले गाउँमा पुगेका छन् । अरू पनि आउने क्रममा छन् ।” आज अबेरसम्म पनि बाटो मर्मत गर्ने काम जारी रहेको उहाँको भनाइ छ ।
केरौँजाबेँसीका ज्याला मजदुरी गरेर खाने स्थानीयलाई बाटो अवरुद्ध हुँदा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार स्थानीयले मर्मत गरेको बाटोमा मान्छे जसोतसो हिँड्न मिल्ने भए पनि भारी उतार्न र खच्चड हिँडाउन भने सम्भव छैन ।
“केरौँजा, केरौँजाबेँसी, लामाबेँसी र रुन्चेतका करिब ६०० परिवारमा खाद्यान्न ढुवानी गर्ने एउटै माध्यम खच्चड हो । अझै केही दिन ढुवानी नगर्ने हो भने त्यहाँ खाद्यान्न अभाव हुन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “खाद्यान्न कहाँबाट लैजाने ? कसरी लैजाने ? दिनभरि मजदुरी गरेर साँझबिहान छाक टार्नेहरूले अब कसरी हात मुख जोड्ने ? भन्ने समस्या छ ।”
पालिकाको वडा नं २ केरौँजातर्फ जाने बाटो आंशिक रूपमा खुले पनि वडा नं १ र ३ तथा चुमनुब्री गाउँपालिकातर्फ जाने बाटो भने अझै खुलाउन नसकिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जसले गर्दा चाडबाडको समयमा मानिस हिँड्डुल गर्न पाएका छैनन् ।
बाढीबाट प्रभावित धार्चे गाउँपालिकाको विभिन्न बस्तीमा मात्रै तत्कालका लागि अभाव टार्न एक हजार २०० बोरा चामल आवश्यक पर्ने पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |