
म्याग्दी, २६ असोजः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्यचौकी र वडा कार्यालय भवन निर्माण भएको छ ।
तीनतले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।
गाउँपालिकाको रु एक करोड ३७ लाख सहयोगमा भवन निर्माण भएको अध्यक्ष भण्डारीले बताउनुभयो । स्थानीयवासीले रु छ लाख चन्दा सङ्कलन गरेर भवन परिसरमा सवारी पार्किङ र घेराबार गरेका छन् ।
भवन उद्घाटनका अवसरमा जग्गादाता र सहयोगीलाई सम्मान गरिएको थियो । भवन निर्माण भएको खुसीयालीमा बेगबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । आर्थिक वर्ष २०८०÷८१ मा रु ५० लाख र २०८१÷८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थियो ।
आर्थिक वर्ष २०८२÷८३ मा विनियोजन भएको बजेटबाट रु २७ लाख ७१ हजारमा ठेक्कामार्फत तला थप गरेर सभाहल बनाएर भवनलाई पूर्णता दिइएको हो । भवनको भुँइ तलामा स्वास्थ्यचौकी र पहिलो तलामा वडा कार्यालयको सेवा सञ्चालन गरेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताउनुुभयो ।
उहाँका अनुसार साविक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गर्नुभएको दुई आना तीन पैसा जग्गामा भवन निर्माण भएको हो । यसअघि बेग स्वास्थ्यचौकीको कच्ची भवनको साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालनमा थियो ।
आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष फगामीले बताउनुभयो । नयाँ भवनमा वडाध्यक्ष, सचिव, सदस्य, प्रशासन, बैठक कक्ष, भण्डारण कक्ष छन् । आठवटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो ।
वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालनमा छन् । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन छ । चालु आवमा दग्नाममा ४ नं वडाको कार्यालय भवन निर्माण गरिने र पिप्लेको वडा कार्यालय भवनलाई तालिम केन्द्रमा स्थानान्तरण गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँले जग्गा प्राप्ति प्रक्रियापछि गाउँसभाको निर्णयअनुसार बेगमा पाँच शय्या क्षमताको अस्पताल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |