
कास्की, २४ असोजः पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेगनास फिस फेस्टिभल’ तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ ।
‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित आगामी कात्तिक १३ देखि २३ गतेसम्म पोखरा महानगरपालिका–३१ मा सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजकले जनाएको छ ।
बेगनास ताल माछाको विविधताका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्र्याइएका बाह्य प्रजातिका माछा पाइन्छन् ।
यसअघिको एक अध्ययनमा बेगनासमा १७ प्रजातिका माछा अभिलेख गरिएको थियो । तीमध्ये ११ स्वदेशी र छ बाह्य प्रजातिका थिए । स्वदेशी प्रजातिमा सहर, कत्ले, चचुने, फगेटा, पोथी तथा अन्य साना प्रजातिका माछा अभिलेख गरिएका छन् । व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्पजस्ता माछा पर्छन् ।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजना गर्ने महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले बेगनास क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्दै स्थानीय व्यवसायलाई चलायमान बनाउन महोत्सव उपयोगी हुने बताउनुभयो ।
उहाँका अनुसार महोत्सवमा स्थानीय माछाका विभिन्न परिकारको बिक्री, मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिनेछ ।
“बेगनास ताल आसपासका पर्यटकीयस्थलको प्रचारप्रसार गरी पर्यटकको आकर्षण बढाउने कार्यक्रमसमेत समावेश गरिनेछ”, लामिछानेले भन्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाभित्रका आठवटै ताललाई तिनको विशेषता र सम्भावनाअनुसार विकास गर्नुपर्नेमा जोड दिनुभयो । “तालहरूको पहिचान स्थापित गर्दै व्यवस्थित रूपमा प्रवर्द्धन गर्नसके पोखरालाई तालैतालको पर्यटकीय सहरका रूपमा विकास गर्न सकिन्छ”, भुजेलले भन्नुभयो ।
सम्भाव्यताका आधारमा एउटा ताललाई जलक्रिडा केन्द्रका रूपमा विकास गर्नसके पानीमा आधारित गतिविधिमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्न सकिने उहाँको भनाइ छ ।
एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद अधिकारीले विसं २०७१ देखि सुरु भएको ‘फिस फेस्टिभल’को पाँचौँ संस्करणपछि कोभिड–१९ का कारण लामो समयसम्म आयोजना गर्न नसकिएको बताउनुभयो ।
कृषि, पर्यटन र शैक्षिक संस्थालाई जोड्दै स्थानीय माछाका परिकारको प्रवर्द्धन गर्ने, लोप हुँदै गएको मौलिक देउसीभैलो संस्कृतिको संरक्षण गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिन लागिएको उहाँले स्पष्ट पार्नुभयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले स्थानीय उत्पादन तथा रैथाने खानाको प्रवद्र्धनबाट क्षेत्रको आर्थिक गतिविधि बढाउन र पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने बताउनुभयो ।
स्थानीय माछाका परिकार तथा रैथाने खानाको प्रवद्र्धनमा महानगरपालिका सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले गाउँ र सहरबीच सहकार्य गरेर उत्पादन र आर्थिक विकासको काम गर्न आग्रह गर्नुभयो । महोत्सवबाट बचत भएको रकम तालबराही, गोरखनाथ मन्दिर र बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको जनाइएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |