
काठमाडौँ, २० असोज : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले विपद्बाट प्रभावितलाई लक्षित गरी ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई संरक्षणदेखि पुनःस्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्न उक्त कार्यक्रम सुरु गरिएको हो ।
विपद् प्रभावित नागरिकलाई तत्काल राहत र सहायतामा मात्र सीमित नराखी उनीहरूको संरक्षण, जीविकोपार्जन पुनःस्थापना, सीप विकास, रोजगारी, उद्यमशीलता, उत्पादन तथा बजारसँग आबद्धतामार्फत आर्थिक रूपमा पुनः उभ्याउनु कार्यक्रमको मूल उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट सुरु गरिनेछ । प्रभावित व्यक्तिको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा उपयुक्त संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम अगाडि बढाइनेछन् ।
मन्त्रालयका अनुसार ‘समुन्नति कार्यक्रम’ लाई आठ वटा प्रमुख स्तम्भमा विभाजन गरिएको छ । जसमा जीविकोपार्जनका लागि नगद, बीउ पुँजी तथा व्यवसाय पुनःस्थापना सहायता, औजार, उपकरण, मेसिन तथा उत्पादन साधन सहायता र सीप तथा रोजगारमूलक तालिम रहेका छन् ।
साथै रोजगार सहजीकरण तथा रोजगारीमा आबद्धता, व्यवसाय तथा उद्यमशीलता विकास, उत्पादन तथा बजार आबद्धता, व्यक्तिगत, जीविकोपार्जन तथा व्यावसायिक परामर्श र संरक्षण, लैङ्गिक हिंसा रोकथाम, जोखिम न्यूनीकरण तथा आवश्यक सेवामा आबद्धतालाई आधार स्तम्भका रुपमा प्रस्तुत गरिएको छ ।
मन्त्रालयका अनुसार बालबालिका भएका विपद् प्रभावित परिवारलाई विशेष प्राथमिकता दिइनेछ । हाल बालबालिकाको दीर्घकालीन संरक्षण र स्याहारका लागि मन्त्रालयको ‘बालबालिका दीर्घकालीन स्याहार योजना’ कार्यान्वयनमा छ ।
‘समुन्नति कार्यक्रम’अन्तर्गत विपद् प्रभावित परिवारमा रहेका बालबालिकाको सङ्ख्या, पारिवारिक अवस्था, आश्रित सदस्य तथा आर्थिक–सामाजिक जोखिमलाई समेत ध्यानमा राखी जीविकोपार्जन तथा पुनःस्थापना सहायतामा आवश्यकताअनुसार विशेष प्राथमिकता र थप सहयोग उपलब्ध गराउन सकिनेछ ।
‘समुन्नति कार्यक्रम’ राहत वितरणमा सीमित कार्यक्रम नभइ विपद्बाट प्रभावित व्यक्तिको तत्काल आवश्यकता सम्बोधन गर्दै उनीहरूको आयआर्जन र जीविकोपार्जन पुनःस्थापना गरी आर्थिक रूपमा पुनः उभिने आधारमा केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |