
नवलपुर (नवलपरासी), १८ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ ।
एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जङ्गल तथा चोरमारा र अरुणखोला बीचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो ।
“पहाडी क्षेत्रबाट तराईतर्फ बाँदर आउन थालेपछि राजमार्गमा दुर्घटना बढ्दै गएको छ”, सूचना अधिकारी खनालले भन्नुभयो, “राजमार्गमा बाँदरहरूले बाटो काट्दा हुने दुर्घटनाबाट मानिसको समेत मृत्यु भएकाले दुर्घटना न्यूनीकरणका लागि यो पुल निर्माण गर्न लागिएको हो ।”
पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ । गैँडाकोट–१० स्थित पितौँजी जङ्गलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाट्टफुट्ट बाँदरहरू वारपार गरेको देखिने गरेको उहाँले बताउनुभयो ।
“ओभरहेड क्यानोपी ब्रिजको प्रभावकारिता अहिल्यै जाँच गर्ने बेला भएको छैन”, सूचना अधिकारी खनालले भन्नुभयो, “बाँदरलगायतका जनावरलाई पुलबाट वारपार गर्ने वातावरण बनाउँदै पुललाई उपयोगी बनाउन सुरुका केही दिनमा फलफूल दिएर उनीहरूलाई आकर्षित गराउनुपर्छ, हामी त्यसको तयारीमा पनि जुटेका छौँ ।” निर्माण सकिएको आभेरहेड क्यानोपी ब्रिजमा योजनाले केही समयमै बाँदरलाई आकर्षित गर्नेगरी फलफूल राख्ने तयारी गरिएको उहाँको भनाइ छ ।
“एउटा ओभरहेड क्यानोपी ब्रिज रु पाँच लाखभन्दा पनि कम बजेटमा निर्माण हुनेरहेछ”, सूचना अधिकारी खनालले भन्नुभयो, “मुख्य राजमार्गको जङ्गल क्षेत्रमा यो पुल निर्माण गर्दा दुर्घटना र त्यसबाट हुने क्षति न्यूनीकरणमा मद्दत पुग्ने देखियो ।” सडक विस्तार योजनाले गैँडाकोटमा जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत राजमार्गको जङ्गलमा सडकमाथि ३४ मिटर लामो र चार फिट चौडाइको ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेको थियो । यो पुलले विशेषगरी बाँदरलाई व्यस्त सडकमा सुरक्षित तवरले पार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
सूचना अधिकारी खनालले ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेर वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज बनाउनुका साथै जैविक विविधता संरक्षण, वन्यजन्तु–सवारी दुर्घटना न्यूनीकरण तथा सडक पूर्वाधारलाई वातावरणमैत्री बनाउने प्रयास गरिएको बताउनुभयो । सडक विस्तार योजनाले जैविक विविधता संरक्षणका लागि राजमार्ग छेउछाउका जङ्गलभित्र पानीपोखरी निर्माण गर्ने, चोरीसिकारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्नेलगायतका काम गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |