
जनकपुर, १६ असोजः जनकपुरधाममा ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३’ मङ्सिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएको छ । प्रधानाध्यापक सङ्घ नेपाल (पान) का अध्यक्ष सुदाम गौतमले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मङ्सिर ४ गतेदेखि सम्मेलन आयोजना गरिने जानकारी दिनुभयो ।
उहाँले नेपालको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्राज्ञिक नेतृत्व सुदृढीकरण तथा तीनै तहका सरकार र सणरोकार भएका निकायबीच नीतिगत सहकार्य निर्माण गर्ने उद्देश्यका साथ पानले सम्मेलन आयोजन गर्ने जानकारी दिनुभयो ।
अध्यक्ष गौतमले नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पेको वर्तमान परिप्रेक्ष्यमा विद्यालय नेतृत्व (प्रधानाध्यापक) र स्थानीय सरकारबीचको समन्वयले मात्र व्यावहारिक शैक्षिक रूपान्तरण सम्भव रहेको धारणा राख्नुभयो । “विद्यालय एक्लैले गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सक्दैन । यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र नीति निर्माताको साझा सहकार्य अपरिहार्य छ”, उहाँले भन्नुभयो ।
यही यथार्थलाई आत्मसात गर्दै देशभरका शैक्षिक अगुवाहरूलाई साझा मञ्च प्रदान गर्न यो शिखर सम्मेलन केन्द्रित रहने अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाँले सम्मेलनमा देशभरका सातै प्रदेशबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, शिक्षा मन्त्रालयका नीति निर्माता र विकास साझेदारहरू प्रत्यक्ष सहभागी हुने जानकारी दिनुभयो ।
अध्यक्ष गौतमका अनुसार यो सम्मेलनले नेपालको विद्यालय शिक्षा सुधारको दीर्घकालीन मार्गचित्र कोर्न दुई महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्नेछ । जनकपुर घोषणापत्र सम्मेलनका सघन छलफल र निष्कर्षका आधारमा नेपालको विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षक पेशागत मर्यादा र शैक्षिक अधिकार कार्यान्वयनका साझा प्रतिबद्धता समेटिएको ऐतिहासिक ‘जनकपुर घोषणापत्र’ जारी गर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले विद्यालय नेतृत्वको क्षमता विकास, नवप्रवर्तन, सूचना प्रविधिको प्रयोग, पेशागत दक्षता र आगामी कार्यदिशा स्पष्ट पार्ने पानको बहुवर्षीय रणनीतिक योजना सार्वजनिक गरिने बताउनुभयो । राष्ट्रिय शिक्षा पुरस्कार तथा सम्मान, शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरी समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउने विद्यालय, नेतृत्वकर्ता तथा स्थानीय तहहरूलाई भव्य समारोहका बीच सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
सातै प्रदेशबाट आधारभूत तथा माध्यमिक तह र प्रधानाध्यापकका साथै उत्कृष्ट स्थानीय तह, उत्कृष्ट गाउँपालिका, उत्कृष्ट नगरपालिका र उत्कृष्ट महानगर/उपमहानगरपालिकालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिक्षा पत्रकारितामा क्रियाशील एक महिला र एक जना पुरुष सञ्चारकर्मी र शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । उहाँले सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्याति प्राप्त शिक्षाविद्हरूबाट मूल कार्यपत्र प्रस्तुति, सङ्घीय र प्रादेशिक सांसदहरू तथा स्थानीय सरकार प्रमुखहरूसँग विद्यालय शिक्षा विधेयक र नीतिगत चुनौतीमाथि खुला बहस, डिजिटल सिकाइ, विद्यालय प्रशासन, समावेशी शिक्षा, मानसिक स्वास्थ्य, र नेतृत्व कलाबारे विषयगत सत्रहरू, नवीन शैक्षिक सामग्री, सूचना प्रविधि र शिक्षण विधिहरूको बृहत् शैक्षिक प्रदर्शनी, स्थानीय तहका प्रमुख र विद्यालय नेतृत्वबीच स्रोत व्यवस्थापन तथा शैक्षिक सहकार्यसम्बन्धी अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |