
धादिङ, २३ भदौ । भदौ १० गते आएको बाढीबाट प्रभावित धादिङका उद्योगी, व्यवसायी तथा सर्वसाधारणको पुनःस्थापना र आर्थिक गतिविधि सहज बनाउन धादिङ उद्योग वाणिज्य संघले सरकार तथा सम्बन्धित निकायसमक्ष पाँचबुँदे माग अघि सारेको छ।
संघले सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै बाढीले जनधनसँगै उद्योग, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएको भन्दै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा तत्काल पहल गर्न आग्रह गरेको हो।
संघका अध्यक्ष रामकुमार डल्लाकोटीले जारी गरेको पत्रमा बाढीबाट क्षति व्यहोरेका तथा बैंकबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्योगी–व्यवसायीलाई कर्जाको ब्याजमा विशेष सहुलियत दिन माग गरिएको छ। यस्तै, उनीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना (Rescheduling/Restructuring) गर्नसमेत आग्रह गरिएको छ।
बाढीका कारण उद्योग, व्यवसाय तथा घरधुरीमा नियमित रूपमा विद्युत् प्रयोग गर्न नसकिएको अवस्थालाई ध्यानमा राख्दै प्रभावित अवधिको न्यूनतम विद्युत् महसुल मिनाहा वा छुट दिन पनि संघले माग गरेको छ।
बाढीपछि सडक सम्पर्क प्रभावित हुँदा धादिङका मध्य तथा उत्तरी क्षेत्रका नागरिकसँगै स्थानीय व्यापार–व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै वैकल्पिक सडकहरूको तत्काल मर्मत, पुनर्निर्माण र आवश्यक स्तरोन्नति गर्न संघले ध्यानाकर्षण गराएको छ। सडक सहज नहुँदा स्थानीय उत्पादनको ढुवानी, दैनिक उपभोग्य वस्तुको आपूर्ति र नागरिकको आवागमनसमेत प्रभावित हुने अवस्था रहेकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने संघको भनाइ छ।
संघले धादिङबेशीलाई पृथ्वी राजमार्गसँग जोड्ने क्षतिग्रस्त पुलको विकल्पमा तत्काल बेलीब्रिज निर्माणको काम सुरु गर्न पनि माग गरेको छ। उक्त सडक सम्पर्क धादिङको मध्य तथा उत्तरी क्षेत्रको आवागमन र आर्थिक गतिविधिसँग जोडिएकाले अस्थायी पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने संघले जनाएको छ।
त्यस्तै, बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र आर्थिक गतिविधि चलायमान बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्यसहित साझा कार्ययोजना बनाएर कार्यान्वयन गर्न माग गरिएको छ।
बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघले शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ। अझै बेपत्ता नागरिकको खोज तथा उद्धारमा संवेदनशील बन्न र घाइतेको शीघ्र स्वास्थ्यलाभका लागि आवश्यक पहल गर्न पनि आग्रह गरेको छ।
धादिङ उद्योग वाणिज्य संघले विपद्पछिको पुनःस्थापना तथा आर्थिक गतिविधि सामान्य अवस्थामा फर्काउने प्रयासमा आवश्यक सहकार्यका लागि आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |