
काठमाडौँ, १३ भदौ:
उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ ।
हवाइमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प प्रयोग गरी अलपत्र नागरिकलाई सुरक्षितरूपमा काठमाडौं ल्याउन थालेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका नागरिकका लागि प्रदेश सरकारले त्यहीँ खाना खुवाउने व्यवस्था गरेको छ । खाना खुवाएपछि उनीहरूलाई गाडीमार्फत महावीरसम्म पुर्याइनेछ । महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुगिने र त्यहाँबाट काठमाडौं ल्याइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
यसका लागि प्रदेश सरकारले निःशुल्क ४५ वटा बसको व्यवस्था गरेको छ । धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको छ । उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई बाटोमा खानपानलगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ ।
प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सफा गरी यातायात सञ्चालनमा ल्याउने प्रयाससमेत अघि बढाएको जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |