काठमाडौँ, १६ पुसः
नेपाली राजनीति आज पनि अस्थिरता, अविश्वास र ध्रुवीकरणको चपेटामा छ । सत्ता–विपक्षबीचको टकराव, राजनीतिक दलहरूभित्रकै आन्तरिक विवाद र समाजमा बढ्दो असहिष्णुताले राष्ट्रिय एकता र लोकतान्त्रिक अभ्यासलाई चुनौती दिइरहेको छ । यही सन्दर्भमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अघि सारेको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
भारतबाट नेपाल फर्कनु पनि बिपीको रणनीतिगत योजना थियो र त्यो अपरिहार्य थियो भन्नेहरुको मत पनि बलियो छ । त्यति बेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर बिपीबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन । जे होस्, यो वहसको फरक विषय हो । इतिहाससँग जोडिएको यस विषयका सम्बन्धमा भविष्यले अनेकथरि धारणा तय गर्ने सम्भावनाहरु जीवित नै रहन्छन् । तर मेलमिलापको औचित्य स्वीकार गर्दै बिपी नेपाल फर्कनु भएपछि नेपालको आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो । यसमा दुई मत हुन सक्दैन ।
सन् १९६८ मा भारत गएका बिपी ३० डिसेम्बर १९७६ का दिन स्वदेश फकिर्नुभएको थियो । बिपी स्वदेश फर्किंदै गर्दा घोषणा गरेको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन पञ्चायती व्यवस्थासँगको सैद्धान्तिक सहकार्य होइन, बरु राष्ट्र र लोकतन्त्र बचाउने दूरदर्शी राजनीतिक सोच थियो । बिपी नेपालबाट जाँदा र फर्कंदाको बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरकपन आइसकेको थियो । बिपीले सधैँ लोकतन्त्र, मानवअधिकार र राष्ट्रिय स्वाधीनतालाई मेलमिलापको केन्द्रमा राख्नुभएको थियो । उहाँको विश्वास थियो, “राष्ट्र कमजोर भयो भने लोकतन्त्र टिक्दैन र लोकतन्त्र बिना नागरिक स्वतन्त्रता सम्भव हुँदैन ।”
उहाँ जहिले पनि राजनीतिक द्वन्द्वको अन्त्य संवाद, सहअस्तित्व र सहमतिबाट मात्र सम्भव हुन्छ भनने गर्नुहुन्थ्यो । मेलमिलाप भनेको अन्यायसँग सम्झौता होइन, बरु राष्ट्रिय हितका सवालमा सबै शक्तिलाई एउटै मञ्चमा ल्याउने प्रयास हो भन्ने उहाँको दृढ विश्वास थियो । राजा महेन्द्र, जसले नेपालमा वामपन्थ बढ्न सहयोग गरे भन्ने मानिन्छ, को अवसान भइसकेको थियो । राजाका रुपमा बेलायतमा उच्च अध्ययन गरेका वीरेन्द्र अवतरित भएका थिए । चीनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो । बङ्गलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन । यसै विषयलाई लिएर नेपालमा विद्यार्थी आन्दोलन पनि चर्केको थियो । नेपाली कांग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र सङ्घर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिह्न उठाइरहिएको थियो । विश्व असंग्लग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो । यस्तो परिस्थितिमा बिपीको नेपाल आगमन भएको थियो, जसले तात्विकरुपमा निकै अर्थ राख्दथ्यो ।
बिपीको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढङ्गले विश्लेषण गरिनु आवश्यक छ । माथि उल्लेखित पृष्ठभूमिका केही कारक अवस्था हुन्, जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा बिपीको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ । अर्को कुरा, बिपीको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ ‘कोर्स’ लिने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित भूमिमा रहेका सम्बद्ध जिम्मेबारसँग पनि उनको दूरी बढिरहेको आकलन त्यसबेला गरिएको थियो । जवाहरलाल नेहरु पुत्री इन्दिरा गान्धी सन् १९७५ को इमरजेन्सीमार्फत निकै शक्तिशाली बनको चर्चा त्यसबेला थियो । विमान अपहरणको आरोपमा केही व्यक्तिलाई भारत सरकारले पक्राउ गरेको भनिएको थियो । यस्तो अवस्थामा सायद बिपीलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ र नेपाल फर्केर कमजोर बन्दै गइरहेको प्रजातान्त्रिक आन्दोलनलाई नयाँ ढङ्गले उचाइमा पु¥याउनु जरुरी थियो ।
बिपी नेपालका पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । नेपाली कांग्रेसका सभापति हुनुहुन्थ्यो । यसर्थ उहाँको नेपाल आगमनलाई किन अस्वभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वासनमा रहेकाले बिपीले नेपाल आगमन हेतु त्यही समय किन रोज्नुभयो भन्ने प्रश्न महत्वपूर्ण छ । यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई बिपीले रणनीतिक रुपमा प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ । मेलमिलापको आवश्यकतालाई केलाउँदा राजनीतिक स्थायित्वका लागि मेलमिलाप अपरिहार्य छ । सहमति र सहकार्य बिना दीर्घकालीन नीति निर्माण सम्भव छैन ।
लोकतन्त्र सुदृढीकरणका लागि सहिष्णुता र संवादको संस्कृति विकास गर्नुपर्छ । बिपीले भनेझैँ, लोकतन्त्र बहुमतको दम्भ होइन, अल्पमतको सम्मान हो । सामाजिक सद्भावका लागि वर्ग, जात, क्षेत्र र विचारका आधारमा बढ्दै गएको दूरी कम गर्न मेलमिलाप महत्वपूर्ण माध्यम बन्न सक्छ ।
त्यसबेलामा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः बिपीका सामु तीन चार अवस्था विश्लेषणयोग्य थिए ।
पहिलो, राजा महेन्द्रको अवसान भई राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मकरुपमा प्रजातन्त्रमा विश्वास गर्छन् भन्ने मानिन्थ्यो । अतः हिजोको राजासँगको व्यक्तित्वको लडाई अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्रको सङ्घर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्छ भन्ने बिपीको बुझाइ हुन सक्छ । उहाँको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजा लक्षित थियो भन्न सकिने आधारहरु प्रशस्त छन् । उहाँले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि बिपीको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ ।
दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको वामपन्थी प्रभावलाई रोक्नु जरुरी रहेको बिपीको बुझाइ हुनसक्छ । प्रजातान्त्रिक आन्दोलन कमजोर हुँदा वामपन्थी आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आबद्ध हुन सक्थ्यो ।
तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सक्थ्यो र नेपाली कांग्रेसमाथिको आफ्नो नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो । र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो । सम्भवतः यी यस्ता आधार थिए जसले बिपीलाई त्यही समयमा नेपाल फर्कन प्रेरित गरेको हुन सक्छ । । तर जे होस तात्कालीन राष्ट्रिय राजनीतिमा बिपीको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो, यसमा विमति हुन सक्दैन । सबैभन्दा महत्वपूर्ण कुरा बिपी स्वदेश फर्कनु भएपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो ।
आज नेपालमा राजतन्त्र छैन । वामपन्थी आन्दोलन पनि हिजोको अवस्थामा छैन । कांग्रेसले पनि नयाँ उचाइ र कलेवर प्राप्त गरेको छ । कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । विश्वमा रहेको असंग्लगन आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ रु नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने बिपी र नेपाली कांग्रेसको यो नीति, आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा, को औचित्य छ रु यसको जवाफ हो, छ । बरु हिजोको दिनभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्वपूर्ण ठहरिएको छ । हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उपयोगले सार्थक परिणाम सिर्जना गर्न सक्छ ।
देश आज सङ्घीयतामा गएको छ । नयाँ संविधान कार्यान्वयनको अवस्थामा छ । हिजोका भन्दा फरक राजनीतिक अवस्था छ । राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ । भूराजनीतिक अवस्था संवेदनशील छ । यस्तो अवस्थामा शायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ । यस्तोमा मेलमिलापको सान्दर्भिकता बढेर गएको कुरामा दुई मत हुन सक्दैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै दुई दशक पुग्न लाग्दा पनि नेपालले राजनीतिक स्थायित्व पाउन सकेको छैन । सरकार गठन–विघटन, दलगत स्वार्थ, विचारभन्दा सत्ताको प्रतिस्पर्धा र सामाजिक सञ्जालमार्फत फैलिने घृणा भाषणले समाजलाई थप विभाजित बनाइरहेको छ । यस्तो अवस्थामा बिपीको मेलमिलापको भावना अझ सान्दर्भिक देखिन्छ । राष्ट्रिय एकताका लागि विभाजनकारी राजनीति त्यागेर साझा राष्ट्रिय एजेन्डामा सहमति खोज्नु आजको आवश्यकता हो । बिपी कोइरालाको मेलमिलापको नीति इतिहासको एउटा अध्याय मात्र होइन, वर्तमान र भविष्यका लागि मार्गदर्शन हो । बढ्दो राजनीतिक र सामाजिक चुनौतीका बीच बिपीको विचार आत्मसात् गर्दै संवाद, सहिष्णुता र सहकार्यको बाटो अवलम्बन गर्नसके मात्र नेपालले स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सक्छ ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |