
नारायणगढ (चितवन), १३ मङ्सिरः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लामो समयदेखि अलपत्र रत्ननगर सभाहलको आज निरीक्षण गर्दै उहाँले अस्पतालको सेवा विस्तारका लागि उक्त संरचना उपयोगी हुने भएकाले अस्पताललाई हस्तान्तरण गर्न आफूले प्रयास गर्ने बताउनुभयो ।
स्थानीयको माग र आवश्यकताअनुसार सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री लम्सालले नगरपालिकासँग समन्वय गरेर अस्पतालले नै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । विसं २०७३ देखि निर्माण सुरु भएको सभाहल एक दशकसम्म पनि पूरा भएको छैन ।
चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले पनि सभाहल अस्पताललाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै यस विषयमा आफूले मन्त्रीसँग पहिलेदेखि नै छलफल गर्दै आएको बताउनुभयो । अस्पतालले उक्त संरचना प्राप्त गरे नर्सिङ कलेज सञ्चालन, बिरामीका लागि थप सेवा तथा अन्य स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज हुने बताउनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले एउटै नगरपालिकामा दुईवटा सभाहल आवश्यक नभएकाले अस्पताललाई हस्तान्तरण गर्नु उपयुक्त हुने बताउनुभयो ।
बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा अङ्कुर पौडेलले अस्पतालमा दैनिक एक हजार ५०० भन्दा बढी बिरामी आउने गरेका जानकारी दिँदै भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार गर्न कठिनाइ भइरहेको बताउनुभयो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले बिरामीको चाप बढ्दै गएको अवस्थामा सभाहल उपयोग गर्न पाए स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम विस्तार गर्न सकिने बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |