
कर्णाली, १२ मङ्सिर: दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा बागमती प्रदेशले कोशी प्रदेशलाई ८४ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा रिनजिन लामा र रोशन झाको अर्धशतकीय पारी तथा उनीहरूबीचको उत्कृष्ट साझेदारीमा बागमतीले प्रतियोगिताकै हालसम्मको सर्वाधिक योगफल बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफमा कोशी १६.३ ओभरमा ९५ रनमै समेटियो ।
बागमतीका ओपनर रित गौतम छ रनमा प्रतीक पोखरेलको बलमा एलबीडब्ल्यु आउट भएपछि तेस्रो क्रममा ब्याटिङ गर्न आएका रोशनले अर्का ओपनर रिनजिनसँग मिलेर १३० रनको साझेदारी गरे ।
रिनजिनले ४० बलमा पाँच छक्का र तीन चौकासहित ५७ रन बनाए । रोशनले ३८ बलमा छ छक्का र तीन चौकाको मद्दतमा ६३ रनको आक्रामक पारी खेले । सोनु देवकोटाले १९ र विवेक रानामगरले १३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बागमतीले पावरप्लेमा आक्रामक ब्याटिङ गर्दै दोस्रो ओभरमा २२ र तेस्रो ओभरमा १७ रन जोडेको थियो । टोलीले दसौँ ओभरसम्ममा एक सय रन पूरा गरिसकेको थियो ।
बागमतीले बनाएको १७९ रन प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले बनाएको सर्वाधिक योगफल हो । यसअघि आर्मी क्लबले गण्डकी प्रदेशविरुद्ध १७७ रन बनाएको थियो । १८० रनको लक्ष्य पछ्याएको कोशी बागमतीका बलरको कसिलो बलिङसामु टिक्न सकेन । कोशीका लागि आठौँ क्रममा ब्याटिङ गर्न आएका फिरदोस अन्सारीले २१ रन बनाए । सोनु अन्सारी र विपिन महतोले समान १३ तथा शाकिव हक र सुजन थपलियाले समान १० रन जोडे ।
बागमतीका प्रतीक पोखरेलले तीन, प्रेम कामतले दुई तथा अङ्कित सुवेदीले एक विकेट लिए ।
समूह चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको कोशी लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |