
ताप्लेजुङ, १० मङ्सिरः जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीयवासीले टिपताला नाका सञ्चालन तथा सीमापास परिचयपत्र प्राप्ति र नवीकरणमा सहजीकरण गर्न सरकारसँग माग गरेका छन् ।
ओलाङ्चुङगोला पुगेका जिल्ला सुरक्षा अधिकारीहरूसँगको छलफलका क्रममा स्थानीयवासीले नाका सञ्चालन, अन्तरदेशीय सामानको आयात–निर्यात तथा सीमापास परिचयपत्रसम्बन्धी प्रक्रिया सहज बनाउन ध्यानाकर्षण गराएका हुन् । वडाध्यक्ष छेतेन वालुङ शेर्पाको समन्वयमा सुरक्षा अधिकारीहरूको टोलीले स्थानीयवासीसँग छलफल गरेको थियो ।
स्थानीयवासीले ओलाङ्चुङगोलादेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जोड्ने सडक निर्माण सम्पन्न गरी टिपताला नाका तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल, भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको तमोर करिडोरअन्तर्गत सुभाङखोला–दोभान–ओलाङ्चुङगोला सडक निर्माण कार्य चाँडो सम्पन्न गर्न पनि उनीहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।
ओलाङ्चुङगोलामा उत्पादन हुने दुग्धजन्य वस्तु तथा जडीबुटी चीन निर्यात गर्ने र तिब्बतबाट खाद्यान्नलगायत आवश्यक सामग्री आयात गर्ने वातावरण बनाउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको स्थानीय नुपु शेर्पाले बताउनुभयो ।
त्यस्तै, स्थानीयवासीले सीमापास परिचयपत्रको नवीकरण अवधि पाँच वर्ष कायम गर्नसमेत माग गरेका छन् । स्थानीयका मागबारे प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले आफ्नो क्षेत्राधिकारभित्र पर्ने समस्याहरू तत्काल सम्बोधन गर्ने र माथिल्लो निकायबाट निर्णय हुनुपर्ने विषय सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता गर्नुभयो ।
सीमा सुरक्षालगायतका विषयमा जानकारी लिनेलगायतका कामका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा अधिकारीहरूको टोली ओलाङ्चुङगोला पुगेको थियो । कोभिड महामारी सुरु भएयता यहाँका बासिन्दाले स्थानीय उत्पादन चीन निर्यात गर्न पाएका छैनन् । त्यसैगरी, चीनबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री आयात गर्ने प्रक्रिया पनि अवरुद्ध छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |