
काठमाडौँ, ८ मङ्सिरः नेपालमा पार्किन्सन्सका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले सो रोगबारे जनचेतना अभिवृद्धि गर्न तथा बिरामी र हेरचाहकर्तालाई उपचार, पुनस्र्थापना र रोग व्यवस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
अन्तरराष्ट्रिय पार्किन्सन्स तथा मुभमेन्ट डिसअर्डर सोसाइटीको सहयोगमा सेन्टर फर रिसर्च पोलिसी एन्ड इम्प्लिमेन्टेसन, विराटनगर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्नायु रोग विभागले आज यहाँ आयाजना गरेको कार्यक्रममा विज्ञले बिरामी, परिवार र स्वास्थ्यकर्मीबीच रोगबारे साझा बुझाइ आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका उपनिर्देशक प्राध्यापक डा गोपाल सेढाईँले नेपालमा पार्किन्सन्स रोगसम्बन्धी जनचेतना विस्तार, उपचार तथा बिरामी व्यवस्थापन उत्कृष्ट बनाउन बहुविशेषज्ञ मञ्च गठन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भविष्यमा बिरामीलाई बहिरङ्ग तथा अन्तरङ्गसेवामा सहज पहुँच पाउने गरी थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्नायु रोग विशेषज्ञ डा राजीव ओझाले पार्किन्सन्स रोगको बढ्दो प्रचलन, यसका विभिन्न जोखिम कारक, रोगका क्लिनिकल लक्षण तथा नेपालमा उपलब्ध उपचार विधिबारे जानकारी दिनुभयो ।
डा मनकुमार तामाङले यस रोगको उपचारसम्बन्धी उपलब्ध क्लिनिकल परीक्षणबारे जानकारी गराउनुभएको थियो । न्युरोसर्जन डा अमित प्रधानाङ्गले डिप ब्रेन स्टिमुलेसनको सङ्केत र परिणामबारे प्रस्तुति दिनुभएको थियो भने जेरियाट्रिसियन डा ऊर्जा भट्टराईले पार्किन्सन्स रोगसँगै देखिने बहुरोगावस्था तथा रोग व्यवस्थापनमा शारीरिक गतिविधि र पोषणको आवश्यकतामा जोड दिनुभयो ।
छलफलका क्रममा अभियन्ता बनिता खनालले बिरामीले अपोइन्टमेन्ट (समय) पाउन र पार्किन्सन्स रोगका औषधि प्राप्त गर्न भोग्नुपरेका कठिनाइबारे सुनाउनुभयो । नेपालमा अझै धेरै औषधि उपलब्ध नभएकाले सरकारले तिनको सहज पहुँच सुनिश्चित गर्न प्रक्रिया अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
बिरामीका हेरचाहकर्तालाई सरकारले दिँदै आएको रु एक लाखको सहयोग पनि सीमित भएकाले बढाउनुपर्ने बताउनुभयो । यस्तै, डिप ब्रेन स्टिमुलेसनको खर्च महँगो भएकाले अधिकांश पार्किन्सन्स बिरामीको पहुँचमा नभएकाले सरकारले थप अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |