
भोजपुर, ६ मङ्सिरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीको चुहार पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
निर्माणाधीन पुलको आज स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले विगतमा विभिन्न कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माणमा ढिलाइ भए पनि अब कामले गति लिएकाले निर्धारित समयभित्रै पुल बन्ने बताउनुभयो । निर्माणका क्रममा देखिएका प्राविधिक समस्या तथा लागत र संरचनामा गर्नुपर्ने परिवर्तनका कारण काम रोकिएको थियो । आवश्यक प्रक्रिया पूरा गरी भेरिएसन आदेश स्वीकृत भएपछि पुल निर्माणको काम पुनः सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
कोशी प्रदेशसभा सदस्य सृजना राईका अनुसार पुलको लागत रु २६ करोड आठ लाख रहेको छ । निर्माणका क्रममा पुलको डिजाइनमासमेत परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो । पहिले पुल निर्माणमा प्रयोग हुने फलामको परिमाण ३६४.७७ मेट्रिक टन रहेकामा परिवर्तनपछि ४९५.६६ मेट्रिक टन पुर्याइएको छ । त्यसैगरी पुलको उचाइसमेत पुनः डिजाइन गरी यसअघि तय गरिएको डिजाइनभन्दा एक मिटर अग्लो बनाइने उहाँले बताउनुभयो ।
“धेरै मिहेनतपछि भेरिएसन आदेश स्वीकृत गराएर पुल निर्माणको काम पुनः सुरु गरेका छौँ”, प्रदेशसभा सदस्य राईले भन्नुभयो, “विभिन्न कानुनी जटिलताका कारण निर्माण अघि बढ्न सकेको थिएन । अब निर्माणले निरन्तरता पाएको छ ।”
तत्कालीन मुख्यमन्त्री शेरधन राईको कार्यकालमा २०७७ असोजमा शिलान्यास गरिएको उक्त पुल निर्माणको कार्य लामो समयसम्म अघि बढ्न सकेको थिएन । निर्माणाधीन पुलको हालसम्म भौतिक प्रगति १९.७० प्रतिशत र वित्तीय प्रगति १९.५० प्रतिशत रहेको पूर्वाधार विकास निर्देशनालय इटहरीका इन्जिनियर सूर्यनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पुल स्टिल ट्रस प्रविधिमा निर्माण भइरहेको छ । यसको लम्बाइ ९० मिटर र फुटपाथसहित चौडाइ साढे १० मिटर रहनेछ ।
पुल निर्माणको काम आगामी असार मसान्तसम्म सम्पन्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री जीवन आचार्यले बताउनुभयो । प्रदेश सरकारले यसअघि सुरु गरेका अधुरा तथा रोकिएका आयोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उहाँको भनाइ छ ।
भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्ने उद्देश्यले हतुवागढी गाउँपालिका–९ हसनपुर र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्नेगरी दूधकोशी नदीमा पुल निर्माण भइरहेको छ । यो पुल सञ्चालनमा आएपछि भोजपुरबाट उदयपुर हुँदै तराईका जिल्लासम्म आवतजावत गर्न सहज हुनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |