
चितवन, ६ मङ्सिर: पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो ।
नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्याइएको थियो । उक्त एक्साभेटरले आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न सुरु गरेको हो ।
निर्माण कम्पनी शर्मा जेडआईसिजि जेभिका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो ठाउँमा एक्साभेटर पुर्याएर डाँडो काट्न थालिएको हो । बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सडकमा सवारी रोकेर काम गरिएको उहाँले जानकारी दिनुभयो । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उहाँले बताउनुभयो ।
“डाँडामा अवस्था हेरेर थप उपकरण वा एक्साभेटर लैजान सकिने देखिएमा सोमबार सम्ममा अर्को एक्साभेटर थप्ने योजना छ । सवारी रोकिएकाले यो समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ । यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्ने छ”, नेपालले भन्नुभयो ।
नेपालका अनुसार चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ । “सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने हुन्छ । दुवै ठाउँमा दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ”, उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँचदिन भित्रमा काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो । सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भागलाई झार्न लागिएको उहाँको भनाइ छ । सवारी रोकेको समयमा सडक विस्तार गर्नुपर्ने ठाउँमा पनि काम गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।
झण्डै एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । पटकपटक पहिरो खसेर सवारी रोकिने गरेका छन् भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ । घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । यो सडक हुँदै राजधानी भित्रने र बाहिरने गरिन्छ । एक दिनमा यस सडकमा एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |