
महोत्तरी, २ मङ्सिरः मधेसको प्राचीन मिथिला क्षेत्रमा आज धातृ नवमी पर्व सम्पन्न भएको छ । धातृ नवमीले सांस्कृतिक, पारम्परिक तथा धार्मिक चाडवाडको वैभवपूर्ण संस्कृति बोकेको छ ।
धातृ नवमी (अक्षय नवमी वा अमला नवमी) कार्तिक शुक्ल पक्षको नवमी तिथिमा मनाइने प्रकृति, आरोग्य र स्वास्थ्य सचेतनाको महत्त्वपूर्ण पर्व हो । संस्कृतमा ‘धातृ’ भन्नाले आमा वा पालनपोषण गर्ने अमलाको वृक्षलाई बुझिन्छ, जसले मानव जीवनलाई स्वस्थ र दीर्घायु राख्न औषधीय गुण प्रदान गर्दछ ।
ऋतु परिवर्तनको समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले अमलाको सेवन र संरक्षणमार्फत स्वस्थ रहन यो पर्वले सन्देश दिन्छ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्व धार्मिक, पारम्परिक र स्वास्थ्य सचेतनाको अवसरका रुपमा लिने गरिएको स्वास्थ्य विज्ञहरुले बताउनुभएको छ ।
यस पर्वलाई धातृ नवमी, इच्छा नवमी र कुष्माण्ड नवमीसमेत भनिन्छ । कुष्माण्ड, इच्छा र अक्षय नवमी भनिनु धार्मिक परम्परासँग जोडिए पनि यसको धातृ नवमी नाउँ भने स्वास्थ्य सचेतनासँग सम्बन्धित रहेको वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले बताउनुभयो ।
“धातृ अमलालाई भनिन्छ, अमला स्वास्थ्यका लागि अत्यन्त गुणकारी फल हो”, उहाँ भन्नुहुन्छ, “यो पर्वमा अमलाकै रुखमुनि र अमलाका परिकारसहित सहभोजको मैथिल परम्परा छ, बढ्दै गएको चिसो मौसमबीच खानामा अमलाको प्रयोग बढाउनु पर्वको स्वास्थ्य सचेतना सन्देश हो ।”
अमलाको रुख स्वच्छ वातावरण दिने र यसको फल अत्यन्त गुणकारी भएको हुँदा पर्वमार्फत अमलाको प्रयोगमा जोड दिइएको झाको भनाइ छ । यस पर्वमा मिथिलाका बासिन्दाले अमलाको रुखमुनि सहभोज गर्दै जाडो बढ्दै गएका बेला अमला फलका परिकार सेवनमा जोड दिन्छन् ।
आज बिहानैदेखि अमलाका फेदमा खाइने भोज अबेर साँझसम्म चल्ने घरआँगनमै भोज आयोजना गर्नुभएका बर्दिबास–२ अस्पताल चोकका अवधेश झा बताउनुहुन्छ ।
चिसो मौसममा अमलाको प्रयोग बढाउँदै लानपर्ने स्वास्थ्यविज्ञको सुझाव छ । “अमला स्वास्थ्यका लागि गुणकारी फल हो, जाडो याममा अमलाको प्रयोग लाभदायक हुन्छ”, पूर्वस्वास्थ्य सहसचिव विजयकुमार झा भन्नुहुन्छ, “हाम्रा पूर्वजले अनुभवले खारिएर यो पर्व परम्परा बसालेका हुन् ।”
अमलाको रुखमुनि खाना पकाउँदा र खाँदा अमलाका पात भोजन सामग्रीमा पर्ने गर्छ । अमलाका पातसमेत पाचन र पेटका जुका झार्ने र पर्न नदिने गुणका हुँदा पूर्वजले अनुसन्धानबाट यसलाई पर्व परम्परामा बाँधेका उहाँको भनाइ छ ।
“अमलाका पात पनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ, फल त अमृत नै हो”, अर्का स्वास्थ्यविज्ञ बर्दिबास नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान भन्नुहुन्छ, “अमलाका परिकार सधैँ प्रयोग गर्न सकिन्छ, यद्यपि जाडो मौसममा अमलाको प्रयोगले हाडजोर्नी दुख्ने समस्या निदानमा सघाउँछ ।”
अमलामा भिटामिन सी प्रचुरमात्रामा पाइने हुँदा जाडो मौसममा रुघाखोकी, शारीरिक कमजोरीजस्ता समस्या नआउने पासवानको भनाइ छ । स्वास्थ्य सचेतनासँग जोडिएको यो पर्व परम्पराले निरोगी रहन सकारात्मक सन्देश प्रवाह गरेको स्वास्थ्य विज्ञहरु बताउनुहुन्छ ।
“हाम्रा समयसमयका पर्वले दैनिक जीवनमा स्वस्थ्य रहन निर्वाह गर्नुपर्ने सन्देश दिएका छन्”, मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णव भन्नुहुन्छ, “अक्षय नवमीमा अमला, माघेसङ्क्रान्तिमा तील र सख्खरको प्रयोगको सन्देश छ, यसैगरी नयाँ वर्षमा मनाइने जुडशीतलमा सातु, दही, मोही र अन्य शीतल खाद्य पदार्थको प्रयोग गरिन उत्प्रेरित गरिन्छ ।”
अमलाको प्रयोगमा जोड दिइने धातृ नवमी पर्व मैथिलले आज बस्तीबस्तीमा आ–आफ्ना घरआँगनका अमलाका रुखमुनि सहभोज गर्दै मनाउँदै छन् । घरआँगनमा अमलाका रुख नहुनेले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरेका छन् । अमलाका विशेष परिकार अचार, मुरब्बा र चटनीसहित साकाहारी खानेकुरामात्र यस पर्वको भोजमा पकाउने, खाने परम्परा छ ।
मिथिलामा यो पर्वलाई कुष्माण्ड नवमी पनि भनिनु द्वापर युगको कथा प्रचलित छ । श्रीकृष्णले यसै दिन कुष्माण्डक दैंत्यलाई संहार गरेर कंश वध गर्नपूर्व मथुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति पाइन्छ ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान विष्णु अमलाका रुखमा बस्ने हिन्दू मैथिलको धार्मिक विश्वास छ । अक्षय नवमीका दिन अमलाको रुख र भगवान् विष्णुको आराधनाले कहिल्यै नास नहुने पूण्य पाइने मानिन्छ । यो पर्वको प्रभावले इच्छित कामना पुरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल विश्वास गर्छन् ।
यस पर्वलाई कहिल्यै नास नहुने पूण्य प्राप्त हुने विश्वासले अक्षय नवमी, इच्छित कामना पूरा हुने भएकाले इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमी भन्ने गरिएको मैथिल संस्कृतिविद् जलेश्वर–७, बखरीका पूर्वप्रशासक महेश्वर राय बताउनुहुन्छ ।
अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका कुरामा आम मैथिल सहमत भएको पाइन्छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |