
त्रिशूली (नुवाकोट), २६ कात्तिकः अकस्मात् परेको असिनासहितको वर्षाले नुवाकोटमा किसानले लगाएको धानबालीमा सामान्य क्षति पुर्याएको छ । बुधबार अपराह्न भएको वर्षा र असिनाका कारण काटेर खेतमै राखिएको धान तथा काट्न बाँकी रहेको धानबाली प्रभावित भएको हो ।
वर्षा र असिनाबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम आगामी सोमबारदेखि सुरु गरिने जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । कार्यालय प्रमुख श्रीकृष्ण अधिकारीका अनुसार प्रारम्भिक जानकारीमा किसानले भित्र्याउन बाँकी राखेको धानबालीमा असर पुगेको पाइएको छ । जिल्लाका सबै स्थानीय तहका कृषि शाखासँग समन्वय गरी विवरण सङ्कलन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था यकिन हुने उहाँले बताउनुभयो ।
कार्यालयका अनुसार यस वर्ष नुवाकोटमा करिब १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमध्ये करिब ८० प्रतिशत धान किसानले भित्र्याइसकेका छन् । बाँकी धान भित्र्याउने तयारी भइरहेका बेला परेको असिना र वर्षाले केही क्षति पुर्याएको हो ।
दसैँ र त्यसलगत्तै परेको वर्षाका कारण पाकेको धान समयमै भित्र्याउन नसक्दा अहिले काटेर खेतमा राखिएको धान भिजेको बेलकोटगढी नगरपालिका–८ का किसान विष्णुप्रसाद पुडासैनीले बताउनुभयो । उहाँका अनुसार वर्षा र असिनाले धान भिजाए पनि क्षतिको प्रभाव मध्यम रहेकाले ठूलो नोक्सानी हुनबाट जोगिएको छ ।
पछिल्ला दुई वर्ष धान भित्र्याउने समयमा भएको बेमौसमी वर्षाका कारण नुवाकोटका किसानले उत्पादनको आधाभन्दा बढी हिस्सा गुमाउनुपरेको थियो । यस वर्ष भने अधिकांश किसानले धान भित्र्याइसकेकाले क्षति तुलनात्मक रूपमा कम हुने प्रारम्भिक अनुमान गरिएको छ । खेतमा काटेर राखिएको धानको परिमाण पनि कम रहेकाले ठूलो नोक्सानी हुनबाट जोगिएको किसानको भनाइ छ ।
यसैबीच, वर्षामा भिजेको धानलाई राम्ररी सुकाएर मात्र भित्र्याउन कृषि प्राविधिकले किसानलाई सुझाव दिएका छन् । बाली विकास अधिकृत अस्मिता बजगाईले पानीले भिजेको धानलाई तत्काल बिटा लगाएर भित्र्याउन हतार नगर्न आग्रह गर्नुभयो । मौसमको अवस्था हेरी घाम लागेपछि राम्ररी सुकाएर मात्र भित्र्याउँदा धान सुरक्षित राख्न सकिने उहाँले बताउनुभयो ।
चिसो र ओसिलो अवस्थामा धान भण्डारण गर्दा कुहिने, ढुसी लाग्ने र गुणस्तर ह्रास हुने जोखिम भएकाले भिजेको धानलाई बिस्कुन बनाएर राम्ररी सुकाउनुपर्ने उहाँको सुझाव छ ।
असिनासहितको वर्षाले धानबालीका अतिरिक्त व्यावसायिक रूपमा लगाइएका काउली, बन्दा, गोलभेँडा तथा अन्य तरकारीबालीमा पनि सामान्य असर परेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलन गरेपछि कृषि उपजमा भएको क्षतिको यकिन तथ्याङ्क सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |