
चितवन, २४ कात्तिकः विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो रु ३९ र नेपाली मकै रु ३६ मा खरिद हुने गरेको थियो । अहिले भारतीय मकैको मूल्य प्रतिकिलो रु ५४ र नेपाली मकैको मूल्य रु ५० भन्दा माथि पुगेको छ । यस्तै, अमेरिका र बङ्गलादेशबाट आउने भटमासको पिनाको मूल्य प्रतिकिलो रु ८७ /८८ बाट बढेर रु ९५/९६ पुगेको छ ।
नेपालमा मकै र भटमासको पिना सबैभन्दा बढी कुखुराको दानामा प्रयोग हुन्छ । दानामा मकै ५० देखि ६० प्रतिशतसम्म प्रयोग हुन्छ भने भटमासको पिना २५ प्रतिशत प्रयोग हुन्छ । कुखुराको दानामा यसका अतिरिक्त थोरै मात्रामा तोरीको पिना, डिसिपी, ढुटो, मार्बल डस्ट, मिनरल र भिटामिनजस्ता वस्तु प्रयोग हुन्छन् । ढुटोको मूल्यसमेत प्रतिकिलो रु ३५ बाट ४७ पुगेको छ ।
सापकोटाका अनुसार दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ । यससँगै विदेशबाट आयात हुने भटमासको पिना पहिले ६० दिनमा आइपुग्ने गरेकामा अहिले ९० दिन लाग्न थालेको छ । जसका कारण खर्च बढेको उहाँले बताउनुभयो ।
नेपालमा भटमासजन्य पदार्थ वार्षिक तीन लाख ५० हजार मेट्रिक टन खपत हुन्छ । ती सबै तेस्रो मुलुकबाट आयात हुने गर्छन् । यस्तै, मकै वार्षिक छ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म खपत हुने गरेको छ । जसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आउने गरेको छ भने बाँकी नेपालकै उत्पादनले धान्ने गरेको छ ।
भारतमा मकैको मूल्य बढेपछि अहिले कुखुराको दानामा प्रयोग नहुने कमजोर गुणस्तरको मकै इथानोल उत्पादनका लागि भारत जाने गरेको उहाँले जानकारी दिनुभयो ।
कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि दाना उत्पादकहरूले ब्रोइलर कुखुराको दानाको मूल्य प्रतिकिलो रु पाँच र लेयर्स कुखुराको दानाको मूल्यरु चार बढाएका छन् । हाल दानाको मूल्य प्रतिकिलो रु ५५ देखि ७५ सम्म पर्ने गरेको छ ।
सापकोटाले तत्कालका लागि राहत दिन दानाको मूल्य बढाइएको भए पनि वास्तविक लागत धान्न नसक्ने अवस्था रहेकाले मूल्य थप बढ्ने बताउनुभयो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दानाको लागत मूल्य बढेसँगै अण्डाको उत्पादन लागत प्रतिगोटा रु दुईदेखि तीनसम्म बढेको बताउनुभयो । यसअघि बजार मूल्यलाई आधार मानेर अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम भएको थियो । दानाको लागत मूल्य प्रतिकिलो करिब रु १० ले बढ्ने भएपछि अण्डाको उत्पादन लागतसमेत बढेको उहाँले बताउनुभयो ।
लागत मूल्यसमेत नपाएर धेरै किसान विस्थापित भइरहेको अवस्थामा लागत मूल्य नजिक पुगेको केही समयमै दानाको मूल्य बढेपछि अण्डा उत्पादक किसान थप सङ्कटमा पर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “छिट्टै लागत मूल्य पाउने वातावरण किसानलाई गराउन सकिएन भने बाँकी रहेका अण्डा उत्पादक किसान पनि विस्थापित हुन्छन् ।” नेपालमा लेयर्स कुखुरापालन गर्ने ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन् । पुराना किसानले लगानी थपेको र नयाँ किसानसमेत व्यवसायमा आएकाले उत्पादन बढेको हुँदा बजारको माग धान्न सम्भव भएको हो ।
ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले दानाको लागत मूल्य बढेपछि चल्ला र मासुको उत्पादन लागत वढेको बताउनुभयो । जिउँदो कुखुरा प्रतिकिलो लागत रु २१० हाराहारी रहेकोमा बढेर रु २३० भन्दा बढी पुगेको बताउनुभयो । यस्तै लेयर्स कुखुराको चल्ला प्रतिगोटाको लागत मूल्य रु १२० बाट रु १५० र ब्रोइलर चल्ला रु ६५ बाट रु ८० पुगेको उहाँको भनाई छ । लामिछानेले दानाको कच्चा पदार्थको मूल्य अश्वभाविक बढ्दा पशु र पन्छीको उत्पादन लागतमा वृद्धि भएको बताउनुभयो । यसबाट गाईभैँसीको दूधको लागत, माछा उत्पादनको लागत मूल्य, बङ्गुरको लागत मूल्य सबै बढेको छ । जसको प्रत्यक्ष प्रभाव बजारमा देखिन थालेको किसानले बताएका छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |