
कर्णाली, १९ कात्तिकः पर्यटकीय महत्व बोकेको नेपालको सबैभन्दा ठूलो ताल रारामा मुख्य न्यायाधिवक्ताको आठौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार तीनै तहका सरकारले काम गरिरहे पनि सङ्घीयताको कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो ।
उहाँले संविधान र सङ्घीयताको मर्मअनुसार आवश्यक ऐन, कानुन निर्माण हुन नसक्दा नागरिकले वास्तविक रूपमा अनुभूति गर्न नपाएको उल्लेख गर्नुभयो । स्थानीय तथा प्रदेश सरकार बलियो भएमा मात्रै सङ्घीयता सुदृढ हुने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले मुख्य न्यायाधिवक्ताको सम्मेलनले संविधान संशोधन तथा त्यसबाट प्रदेश र स्थानीय तहमा अधिकार कार्यान्वयनका क्रममा देखिएका अन्योल हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता सर्वराज जोशीका अनुसार कानुनी क्षेत्रका समसामयिक विषयमा छलफल, कानुन व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि तथा न्यायिक क्षेत्रमा देखिएका चुनौती र समस्याको पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा कानुनी शासनको प्रत्याभूति, न्याय सम्पादनमा प्रभावकारिता, नागरिकको न्यायमा पहुँच अभिवृद्धि, कानुनी हकहितको संरक्षण तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलगायत विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।
देशका सातै प्रदेशमा कार्यरत मुख्य न्यायाधिवक्तालाई एउटै मञ्चमा भेला गराई कानुनी क्षेत्रका समस्या, चुनौती, अनुभव र सम्भावनाबारे विचार आदानप्रदान गर्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको छ ।
सम्मेलनमा महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्तासहित सातै प्रदेशका मुख्य न्यायाधिवक्ता गरी २४ जनाको सहभागिता रहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |