
काठमाडौँ, १८ कात्तिक : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९, सिसीटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने २३ र तीव्रगतिमा सवारी चलाउने ५८ जना रहेका छन् ।
त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १३, लेन अनुशासन उल्लङ्घन गर्ने आठ, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २१ र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने दुई जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३६९ जना चालकलाई समेत कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा जाँचलाई तीव्रता दिइएको छ । ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको छ ।
विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्रगति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको जनाइएको छ ।
ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित जाँच गरी सिसीटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ । प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |