
घोराही (दाङ), १७ कात्तिकः दाङ लमही नगरपालिका–५ कोलहीमा बस्दै आउनुभएका वसन्ता गिरी आजभोलि तिहारका लागि सिन्कामारी रोटी बेच्न व्यस्त हुनुहुन्छ । उहाँले विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर सिन्कामारीको व्यवसाय गर्दै आएको बताउनुहुन्छ ।
गुराँस सिन्कामारी उद्योगमार्फत व्यवसाय गर्दै आउनुभएका उहाँलाई विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी बेच्न आजभोलि भ्याइनभ्याइ भएको छ । उहाँले बनाएको सिन्कामारी अहिले लमहीे बजारसँगै नजिकका गाउँहरुमा बिक्री हुने गरेको छ । उहाँले धेरैजसो घरबाट नै बिक्री गर्दै आउनुभएको छ । तिहारको समय र बिहेको सिजनमा बढी बिक्री हुने गरेको उहाँको भनाइ रहेको छ ।
उहाँलाई सिन्कामारी रोटी उत्पादनमा श्रीमान्ले पनि साथ दिनुहुन्छ । “खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि”, उहाँले भन्नुभयो, “तिहारलाई लक्षित गरेर गरेको यो व्यवसायले अघि पछि पनि राम्रो आम्दानी दिएको उहाँ बताउनुहुन्छ । उहाँले तिहारको समयमा मात्रै रु डेढ, दुई लाखको बिक्री गर्ने गरेको बताउनुभयो ।” उहाँले अघिपछि पनि मागअनुसार उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । थोरै सधँै स्टक राख्ने पनि गरेको उहाँले बताउनुभयो । आजभोलि दैनिकजसो उहाँले रु २० हजार बढीको सिन्कामारी रोटी बिक्री गर्दै आउनुभएको छ ।
“फुर्सदको समय यत्तिकै बिताउनुभन्दा यो काम गरेपछि आयआर्जन पनि भएको छ,” उहाँले भन्नुभयो, “सीप भएका महिलालाई फुर्सदको समय सदुपयोगको साथै आयआर्जनको अवसर मिलेको छ ।” हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको खपत धेरै हुनेगर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार गर्नेको कमाइ भने राम्रो रहेको उहाँको अनुभव रहेको छ ।
धेरैजसो ग्राहक घरमै पनि लिन आउने भएकाले बजारको समस्या नभएको उहाँको भनाइ छ । तिहारको समयमा यसको माग पनि राम्रो हुने भएकाले बिक्री गर्न सजह हुने गरेको गिरी बताउनुहुन्छ । उहाँले एक दर्जनलाई थोकमा रु २५० का दरले र होलसेलमा रु ३०० का दरले बिक्री गर्दै आएको सुनाउनुभयो ।
उहाँसँगै जिल्लामा पछिल्लो समय तिहारलाई लक्षित गरेर सिन्कामारी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ । यसका कारण यामको व्यापारले घरको आर्थिक पार्जनमा समेत थप टेवा पुग्ने गरेको उहाँको असम्भव रहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |