
दमौली (तनहुँ), ११ कात्तिकः जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ । कृषि वन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वनको खाली तथा उपयुक्त क्षेत्रमा वृक्षरोपण गर्नुका साथै अन्य सामुदायिक वन र निजी जग्गामा रोपण गर्न मागअनुसार बिरुवा वितरण गरेको हो ।
डिभिजन वन कार्यालय, तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनमा रुद्राक्ष, आँप, लिची, एभोकाडो, कटहर, चाँप, तेजपातलगायत प्रजातिका बिरुवा रोपिएका छन् ।
उक्त कार्यक्रमले वन संरक्षणसँगै फलफूल उत्पादन, आयआर्जन र वन क्षेत्रको बहुउपयोगलाई जोड्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । कार्यालयले खोरादी, भोर्ले फूलबारी, मालागिरी र सानो देउराली सामुदायिक वनमा वृक्षरोपण गरेको छ । यी चार सामुदायिक वनमा मात्रै कुल साढे पाँच हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।
खोरादी सामुदायिक वनमा एक हेक्टर क्षेत्रफलमा ६२५ वटा रुद्राक्षका बिरुवा रोपिएका छन् । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रुद्राक्षको खेतीलाई वन क्षेत्रसँग जोडेर प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो ।
त्यस्तै, मालागिरी सामुदायिक वनको दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० वटा रुद्राक्षका बिरुवा रोपिएका छन् । रुद्राक्षका बिरुवाले भविष्यमा उत्पादन दिन थालेपछि सामुदायिक वनको उपयोगिता बढ्नुका साथै स्थानीयस्तरमा आम्दानीको सम्भावना सृजना हुने अपेक्षा गरिएको रानाभटले बताउनुभयो ।
भोर्ले फूलबारी सामुदायिक वनको एक हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएका छन् । उक्त वनमा १०० कटहर, १४० वटा लिची र १८५ वटा एभोकाडोका बिरुवा रोपिएको छ ।
फलफूलका प्रजाति छनोट गरेर गरिएको वृक्षरोपणले वन क्षेत्रको उपयोग बढाउनुका साथै भविष्यमा फलफूल उत्पादन र स्थानीय आयआर्जनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सानो देउराली सामुदायिक वनको डेढ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका एक हजार ६६६ वटा बिरुवा रोपिएका छन् । उक्त क्षेत्रमा ५०० चाप, ३०० तेजपात, २५० आँप, २५० लिची, ६६ एभोकाडो, १०० बडहर र २०० रुद्राक्षका बिरुवा रोपिएको छ ।
एउटै सामुदायिक वनमा काठ, फलफूल तथा अन्य बहुउपयोगी प्रजातिका बिरुवा रोपेर वनको विविधता बढाउने प्रयास गरिएको छ । रानीवन सामुदायिक वनलाई १२० वटा आँप, १२० वटा लिची र १२० वटा एभोकाडोका बिरुवा उपलब्ध गराइएको छ । त्यस्तै, मधुवन सामुदायिक वनलाई २६० वटा आँप, २६० वटा लिची र २६० वटा एभोकाडोका बिरुवा वितरण गरिएको छ ।
शेरा सामुदायिक वनलाई २०० आँप र २०० लिचीका बिरुवा वितरण गरिएको छ । छपेली सामुदायिक वनलाई २० आँप, २० लिची, ५० एभोकाडो र २०० वटा मेकाडेनियाका बिरुवा उपलब्ध गराइएको छ ।
यसैगरी, सालडाँडा धुसेनी वनलाई १० आँप, १२० एभोकाडो, १०० रुद्राक्ष, ५० मेकाडेनिया र २० वटा बोधिचित्तका बिरुवा वितरण गरिएको छ । सामुदायिक वनमार्फत विभिन्न प्रजातिका बिरुवा रोपण र वितरण गर्ने कार्यक्रमले वन उपभोक्ता समूहलाई वन क्षेत्रको उत्पादनमूलक उपयोगतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |