
वालिङ (स्याङ्जा), १० कात्तिकः पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आउनुभएको छ ।
प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुनुहुन्छ । पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल हुनुभएको हो ।
एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार १०० केराका बिरुवा लगाउनुभएको छ ।
कालीगण्डकी नदीको किनारमा अवस्थित खेतमा केराको उत्पादन राम्रो हुने ठानेर गरेको खेती अहिले निक्कै फस्टाएर गएको छ । “व्यावसायका क्रममा मैले धेरै क्षेत्रमा हात हाले”, उहाँले भन्नुभयो, “सबैभन्दा खुसी र सन्तुष्टि मलाई यही केरा खेतीबाट मिलेको छ ।”
सुरुमा स्थानीय ‘मालभोग’ र ‘जि नाईन’ प्रजातिको केरा लगाउनुभएका पङ्गेनीले हाल जि नाईन जातको केरा हटाएर स्थानीय मालभोगमात्रै लगाउनुभएको छ ।
केराबाट राम्रो आम्दानी हुन थालेपछि धान तथा मकै खेती हुँदै आएको जमिनमा केरा खेती विस्तार गरेको उहाँले बताउनुभयो । “अन्य खेतीभन्दा केरा खेती सहज लाग्यो, उत्पादित केराको बजारको माग पनि उच्च रहेकाले केरा खेती थालेको हुँ ।” उहाँले भन्नुभयो, “आफ्नो १३ रोपनी र बाँकी अरुको जग्गा बन्धकी र भाडामा लिएर ६१ रोपनी क्षेत्रफलमा केरा खेती छ ।”
यहाँ उत्पादन भएको स्थानीय जातको मालभोग केरा अन्य केराभन्दा ठुलो, आकर्षक र विषादीरहित तरिकाले पकाएर बिक्री गर्ने भएकाले पनि स्थानीय बजारमा अत्यधिक खपत हुने गरेको उहाँले बताउनुभयो ।
विषादी तथा अखाद्य व्स्तुको प्रयोग गरेर केरा नपकाउने र अर्गानिक केरा भएकै कारण पनि स्थानीय चापाकोट बजारमा केरा बिक्री हुँदै आएको छ ।
राम्रो र ठुला कोसा भएको केरा प्रतिदर्जन रु २०० र साना कोसा भएका केरा प्रतिदर्जन रु १५० का दरले बिक्री हुने गरेको छ । “खेतमा रहेका छ हजार २०० बोटमध्ये अहिले दुई हजार २०० बोटले उत्पादन दिन्छन्”, उहाँले भन्नुभयो, “यी बोटहरुबाट उत्पादन भएका केरा बिक्रीबाट वार्षिक एघार लाख बढी आम्दानी हुँदै आएको छ ।”
खेतमा भएका सबै बोटले उत्पादन दिनथालेपछि वार्षिक तीस लाख बढी आम्दानी हुने लक्ष्य उहाँको छ ।
घरपरिवारले रेखदेख गर्दै आउनुभएको उक्त केरा खेतीमा गोडमेललगायत समयमा भने स्थानीयलाई रोजगारीसमेत हुने गरेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |