
ख्वप (भक्तपुर), ८ कात्तिकः प्रत्येक वर्ष बडादसैँमा राष्ट्रप्रमुख (राष्ट्रपति) सवारी हुने भक्तपुरको नवदुर्गा मन्दिरका देवगण नाच्ने अःखः (नवदुर्गा नाच प्रशिक्षण तालिम घर)को पुनर्निर्माण हुने भएको छ ।
नवदुर्गा नाचको प्रशिक्षण सञ्चालन गर्न भक्तपुर नगरपालिका–७ नासःचाः मन्दिर पछाडिपट्टिको अःखः (नवदुर्गा नाच नित्य प्रशिक्षण तालिम घर) पुनर्निर्माण हुने भएको हो ।
श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले भक्तपुर नगरपालिकाको बजेटबाट तालिम घर पुनर्निर्माण हुन लागेको जानकारी गराउनुभयो । करिब रु २० लाखको लागतमा तालिम घर पुनर्निर्माण सम्पन्न गर्ने जानकारी उहाँले दिनुभयो । त्यसका लागि उपभोक्ता समिति पनि गठन भइसकेको जानकारी उहाँले गराउनुभयो ।
भक्तपुर नगरपालिका–७ का वडाअध्यक्ष उकेश कवांले मल्लकालभन्दा अघिदेखि सञ्चालन हुँदै आएको नवदुर्गा देवगण जात्रा मानव समाजलाई दिशाबोध गर्ने महत्त्वपूर्ण सांस्कृतिक परम्परा भएकाले नवदुर्गा देवगण जात्राको संरक्षण र संवर्द्धनका लागि भक्तपुर नगरपालिका सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले नवदुर्गा नाचका लागि निर्माण हुने तालिम घरको निर्माण सम्पन्न भएपछि त्यसको संरक्षण र सदुपयोगमा देवगणहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने धारणा राख्नुभयो ।
समुदायमा आधारित संस्कृति भएकाले नगरवासीको श्रद्धा, गोप्य तान्त्रिक पूजा तथा संस्कृतिलाई देवगणहरूले सभ्य र भव्य रूपमा जात्राका माध्यमबाट निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नवदुर्गा देवगण जात्रासम्बन्धी अभिलेख तयार गरी प्रकाशन गर्नाका साथै पुस्तकालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा काम गरिरहेको बताउँदै अध्यक्ष कवांले ऐतिहासिक पृष्ठभूमि बोकेको भक्तपुरलाई सभ्य र व्यवस्थित सहरका रूपमा विकास गरिँदै आएको उल्लेख गर्नुभयो । अष्टमातृका देवगणका मठमन्दिरबाट घेरिएको भक्तपुर ऐतिहासिक सहर भएकाले यसको सांस्कृतिक सम्पदा संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
नवदुर्गा मन्दिर रहेको भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नवदुर्गा जात्रा सभ्य संस्कृति तथा मानव समाजकै पहिचान भएको बताउनुभयो । उहाँले नेपालकै लामो सांस्कृतिक धरोहरका रूपमा रहेको नवदुर्गा जात्राको संरक्षणमा बनमाला तथा उजाजुहरूको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । भक्तपुरको कला तथा संस्कृति संरक्षणमा भक्तपुर नगरपालिका नेपालकै पहिलो नगरका रूपमा अघि बढिरहेको उहाँले दाबी गर्नुभयो ।
संस्थाका वरिष्ठ सल्लाहकार नारायणमान बनमालाले देवगण जात्रा र यसको महत्वबारे चर्चा गर्दै देवगणहरू सचेत र सङ्गठित भएर जात्राको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले लोभ–लालचमा परी आफ्नो मौलिक अस्तित्व गुमाउने गतिविधिप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |