
बागलुङ, ६ कात्तिक : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताउनुभएको छ । आज पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभयो । मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षितस्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताउनुभयो ।
उहाँले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक रु १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्येक छ पालिकाको विपद् व्यवस्थापन कोषमा रु ४० लाखको दरले रकम पठाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
उहाँले बाढीग्रस्तक्षेत्र गलकोटस्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगरलगायतको स्थलगत निरिक्षण गर्नुभएको थियो ।
मन्त्री लम्सालसंगै बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोम शर्मा, पूर्वाधार मन्त्रालयका सचिव पदम मैनाली, सडक विभागका महानिर्देशक डा विजय जैसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य तथा सडक बोर्डका सदस्य अर्जुन श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।
क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि आवश्यक योजना, प्राविधिक मूल्याङ्कन तथा सम्बन्धित निकायबाट गर्नुपर्ने पहलका विषयमा संकट भोगेका पालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको थियो ।
सरकारले पुनर्निर्माण र रहातका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकट ग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |