
काठमाडौँ, ४ कात्तिकः मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ गोेरखाका इन्जिनियर कुमार लामिछाने ।
काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल हुनुभएको छ ।
गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आउनुभएको हो ।
उहाँले रु १० करोड लगानीसहित मासिक रु एक लाखका दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गर्नुभएका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन् ।
“इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,” उहाँ भन्नुहुन्छ ।
इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुध विकास संस्थान (डिडिसी) र नमूना डेरी तथा बाँकी दुध उपत्यकाका विभिन्न डेरीहरुमा बिक्रीवितरण हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु १७० र गाईको रु १०० छ । गाई र भैँसीको दुध दुहुन मेसिन जडान गरिएको छ । उहाँको फार्ममा हाल प्रतक्ष एवं अप्रतक्ष रुपमा ५० कर्मचारी कार्यरत छन् ।
दूध बिक्रीबाट मासिक रु ४५ देखि ५० लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १५ लाख बचत हुने गरेको उहाँले बताउनुभयो । गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुनेगरेको उहाँको भनाइ छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |