Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

आलेखः न आफन्त रहे, न घरः छैन दसैँको रौनक

दसैँ नजिकिँदै गर्दा निराजन पौडेलको मन पटकपटक झुक्किन्छ । बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, “ए, दसैँ आइसकेछ !
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार (१ दिन अघि)
आलेखः न आफन्त रहे, न घरः छैन दसैँको रौनक

काठमाडौँ, ३० असोजः दसैँ नजिकिँदै गर्दा निराजन पौडेलको मन पटकपटक झुक्किन्छ । बजारमा दसैँको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, “ए, दसैँ आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ ।”

तर, यो उमङ्गको सानो लहर उठ्न नपाउँदै सेलाउन पुग्छ । दसैँको झल्कोसँगै उहाँको मनमा भोटेकोशी बाढीको अकल्पनीय कल्पना आउँछ र त्यसले आफ्नो गाउँबस्तीको बिभत्स दृश्य आँखै अगाडि ल्याइदिन्छ ।

जुन घरमा दसैँको खुसी छाउँथ्यो, परिवारसँगै बसेर विगतका दसैँहरु मनाइन्थ्यो आज त्यो घर नै छैन । जुन घरको आँगनमा परिवार र आफन्तसँग आत्मीयता र अपनत्व खुल्थ्यो, आज त्यो आँगन बाढीले बगर बनाइदिएको छ । बाढीले घरसँगै गाउँ फर्कने र रमाउने निराजनको सपना पनि बगाइदिएको छ । त्यसैले एकैछिनको मनको उमङ्गले उहाँलाई पटकपटक झस्काउँछ ।

दसैँ आयो, कैयौँ प्रदेशी घर फर्कन पाउँदैनन् । कसैलाई रोजगारीले रोक्छ, कसैलाई गरिबीले, त कसैलाई बाध्यताले छेक्छ । तर निराजनको पीडा यी सबैभन्दा फरक छ । उहाँको फर्कने घर नै छैन । अरूका लागि घर पुग्ने हतारो भइरहेको दसैँ उहाँका लागि भने आँशु भएर आएको छ । विडम्बना पनि कस्तो भने दसैँको यो छेकोमा निराजनको मन भने आफूले गुमाएको घरको सम्झनामा डुबुल्की मारिरहेको छ । दसैँमा घर पुगेका कैयौँले यतिखेर आफ्ना घरको ढोका खोलिरहँदा निराजनको मनले भने सम्झनाको ढोका खोलिरहेको छ र त्यो खाली घरमा विगतका खुसीहरू खोजिरहेको छ ।

दसैँमा गाउँ फर्कने बाटो त बनेको छ तर तर टेक्ने आँगन छैन । सम्झनामा घर छ तर आँखा अगाडि भने बगर । अनि छातीभित्र कहिल्यै निको नहुने घाउ र नपुरिने रिक्तता । हो, यतिखेर सहरतिर दसैँको माहोल बढ्दै जाँदा निराजनलाई भने भदौ १० गतेको कहालीलाग्दो बज्रपातले पिरोलिरहेको छ । त्यो दिन उहाँलाई न सम्झन मन छ, न बिर्सन नै सक्नुहुन्छ ।

नुवाकोटको विदुर नगरपालिका–स्थित सोलेका निराजन पौडेलले भदौ १० गते सर्वस्व गुमाउन पुगे । बुबा वासुदेव पौडेलसहित आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी बाढीमा बेपत्ता हुनुभयो ।

अहिले उहाँसँग न ती प्रियजन छन्, न बाबाआमाले सिन्कासिन्का जोडेर परेवाले गुँड लगाए झैँ जोडेको सम्पत्ति नै बाँकी रह्यो । आफ्नो घरखेत कहाँनिर थियो भन्ने सङ्केत नै छैन ।

“बाबा, दसैँ आयो नी । हामी गाउँ कहिले जाने ? आमाबुबा (हजुरबा–हजुरआमा) ले ‘पिङ खेल्न आऊ है झट्टै’ भनेर किन फोन नगरेको होला ? आजभोलि भिडियो कल किन नगरेको ? दसैँमा घर जाँदा म त रिसाउने हो ।”

यसरी पाँच वर्षीय छोरा लियान पौडेलले बारम्बार राखिरहेको जिज्ञासाले निराजन आँशु नै थाम्न सक्नुहुन्न । छोराले थाहा नपाओस् भनेर कहिले बाथरुममा, कहिले अर्को कोठामा गएर रुनुहुन्छ र पानीले आँखा धुनुहुन्छ । “बाबा, दसैँमा सोले घर गएर पिङ खेल्नुपर्छ भनेर छोराले सोध्दा म त आफूलाई सम्हाल्न नै सकिरहेको हुन्न”, निराजन भन्नुहुन्छ ।

अबोध छोरा लियानलाई के थाहा ? भोटेकोशीको बाढीले सोलेको घर छैन, हजुरबा र हजुरआमालाई पनि बाढीले बगायो भनेर । लियानलाई दसैँ आएपछि गाउँको घर पुगिन्छ, हजुरबुबाले हालिदिएको पिङ खेलिन्छ, हजुरआमासँग भेट हुन्छ र पोहोर सालको जस्तै रमाइलो हुन्छ भन्ने लागिरहँदो हो । छोराको चित्त कसरी बुझाउने भनेर निराजन अलमलम हुनुहुन्छ ।

“छोरालाई केही थाहा छैन । अझै पनि दसैँमा सोले घर जाने र पिङ खेल्ने भनिरहेको छ । म अर्को कोठामा हुँदासमेत उसको आमाको फोनबाट घर अनि अघिल्लो दसैँमा नै हालिदिएको पिङ देखाउन भन्छ । ऊ आफ्नो घर छ कि छैन भनेर निश्चित हुन खोजिरहेको जस्तो गर्छ”, निराजनले भन्नुभयो ।

गाउँघरको दसँैको रौनक निराजनका लागि अब सम्झनामा मात्रै छ । आमाले कमेरो र रातोमाटो लगाएर घर लिपपोत गर्न थालेपछि दसँै घरआँगनीभित्र भित्रिन तम्तयार भएको भान हुन्थ्यो । थाक्रोमा पाकेर पट्ट फुट्न लागेको काँक्रा हुन्थे । दसैका लागि भनेर आमाकै हातले बनाएका अचार हुन्थे । दसैमा काट्नुपर्छ भनेर वरपर घाँस नकाटी राखिन्थ्यो । घरवरपरका झाडी सफा गरेर चिरिच्याट्ट बनाइन्थ्यो । निराजन दसैँ बिदा भएपछि दसैँका लागि भनेर दाउरा खोज्न गएर आमालाई सघाउनुहुन्थ्यो । प्रदेशीहरू गाउँ फर्कन्थे ।

“गाउँ नै रमाइलो, दसैँ रमाइलो, दसैँ आउँदा मनमा पीर भए नी यसै रमाइलो ।”

अघिल्लो दसँैसम्म शिव हमालको शब्द तथा सङ्गीत र विमल परियार तथा सविता परियारको स्वरमा सजिएको यो दसैँको गीत घन्कन थालेपछि निराजनको मनमा पनि उत्सवको माहोल आउँथ्यो । दसैमा झनै रौनक देखिने, रमाइलो लाग्ने त्यो गाउँ नै अब त उजाड बगर बनिसकेको छ ।

जब पढाई र रोजगारीको सिलसिलामा निराजन काठमाडौँ आउनुभयो, कहिले छुट्टी होला र गाउँ जाउँलाजस्तो हुन्थ्यो । यसपटक बुबाले घरमा प्लास्टर गर्नुभएको थियो । त्यही प्लास्टर गरेको घरमा बसेर टीका र जमरा लगाउँला, आफन्त र साथीभाइसँग भेटौँला भन्ने सोच बनाउनुभएको थियो निराजनले । ती आफन्त, काकाकाकी अनि साथीभाइलाई बाढीको भेलले बगायो, अब कहिल्यै भेट्न नपाइने गरी । “बुबाआमाले हरेक वर्ष फोन गरेर सोध्नुहुन्थ्यो, “दसैँमा कहिले आउँछाँै ? कति दिन बस्छौँ ? कति मासु खाने ?”, निराजन भन्नुहुन्छ । सधैँको दसैँमा जस्तै यसपटक पनि आमाले यसो भन्दै फोन गरिदिए पनि हुन्थ्यो जस्तो लाग्छ निराजनलाई ।

“अहिले हामीलाई दसैँ आएको हो कि अरू कुनै दिन हो, छुट्याउनै गाह्रो छ । पहिला दसैँ आउँदा छुट्टै खुसी हुन्थ्यो । अहिले त चाडपर्व आएको अनुभूतिसमेत हुँदैन”, निराजन भन्नुहुन्छ ।

भूकम्पले विस्थापित, बाढीले सर्वस्व

विसं २०७२ को भूकम्पले निराजनको परिवारलाई घरबाट विस्थापित गरेको थियो । भूकम्पले गाउँको घर बस्न नमिल्ने भएपछि परिवारका केही सदस्य तल बेँसीतिर झरेका थिए । त्यहाँ जग्गा किनेर घर बनाइएको थियो ।

खेतीपातीबाट हुने आम्दानी पनि परिवारको जीवनयापनको आधार बनेको थियो । भूकम्पपछि बनेको घरमा परिवारले विस्तारै जीवन व्यवस्थित गर्दै लगेको थियो । घर निर्माण भएको एक दशकभन्दा बढी समयपछि बल्ल त्यसलाई अझ राम्रो बनाउने योजना अघि बढ्यो । बुबाले दुई महिनाअघि मात्रै घरमा प्लास्टर गर्न लगाउनुभएको थियो । दसैँमा परिवारका सबै सदस्य आउँदा घर राम्रो देखियोस् भन्ने उहाँको चाहना थियो । घरको स्वरूप फेरिँदै थियो । परिवारका सपना पनि साकार हुँदै थिए । तर, भदौ १० गते आएको बाढीले ती सबै सपना क्षणभरमै बगाइदियो ।

बाढी आउनुभन्दा केही समयअघि निराजनले परिवारलाई गाउँमा नबस्न आग्रह गर्नुभएको थियो । अघिल्लो वर्ष पनि भोटेकोशीमा बाढी आएपछि जोखिम बढेको महसुस गर्दै उहाँले बुबाआमालाई काठमाडौँ आउन भन्नुभएको थियो । नातिको हेरचाह गर्नका लागि पनि परिवारलाई काठमाडौँ ल्याउने सोच थियो निराजनको । तर, बुबा विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो । अवकाश हुन अझै तीन वर्ष बाँकी भएकाले बुबाले अब दसँैको पेस्की लिएर सोचौँला भन्नुभएको निराजन सुनाउनुहुन्छ ।

“मैले बुबाआमालाई अब त्यहाँ नबस्नुस्, जोखिम छ, काठमाडौँ आउनुस् भनिरहेको थिएँ । तर, यस्तो विपत्ति आउला भन्ने कसैले कल्पना गरेका थिएनौँ”, निराजनले सम्झनुभयो । यदि बुबाआमा काठमाडौँ आएको भए सम्पत्ति गुमाए पनि उहाँहरूलाई त गुमाउनु पर्दैनथ्यो भन्ने लाग्छ उहाँलाई ।

पेसाले पत्रकार निराजन भदौ १० गते कार्यालयमा हुनुहुन्थ्यो । रातोपाटीमा कार्यरत उहाँ बाढी आएको खबर पाउँदा सुरुमा सामान्य बाढी होला भन्ने ठान्नुभयो । यसअघि पनि खोला बढ्ने र बाढी आउने गरेकाले यसपटक पनि त्यस्तै होला भन्ने लागेको थियो उहाँलाई । तर, केही समयपछि गाउँमा बाढी पसिसकेको खबर आयो । काठमाडौँमा बस्ने अर्जुन पौडेलले फोन गरेर बाढी सोलेसम्म आइपुगेको बताउनुभयो । प्रत्यक्ष दृश्य र समाचारबाट बाढीको भयावहता थाहा हुन थालेपछि निराजनले परिवारका सदस्यलाई फोन गर्न थाल्नुभयो । पहिले आमालाई फोन गर्नुभयो । सम्पर्क हुन सकेन । बुबालाई फोन गर्नुभयो, लागेन । काका र बहिनीलाई फोन गर्दा पनि सम्पर्क हुन सकेन ।

फोन नलागे पनि निराजनको मनमा परिवारका सदस्य सुरक्षित ठाउँमा पुगेको विश्वास थियो । यसअघि बाढी आउँदा गाउँका मानिस माथितिर सुरक्षित स्थानमा गएर बसेका थिए । यसपटक पनि सबै जना जङ्गलतिर वा माथिल्लो गाउँमा पुगेका होलान् भन्ने उहाँलाई लाग्यो । “मलाई दिउँसो २ः०० देखि ३ः०० बजेसम्म सबै जना सुरक्षित हुनुहुन्छ होला भन्ने लागेको थियो । फोन नलाग्नु सामान्य समस्या होला भन्ने सोचेको थिएँ”, उहाँले भन्नुभयो । पछि गाउँका मानिससँग सम्पर्क हुन थालेपछि अवस्था झन् भयावह भएको थाहा भयो । कतिपयले स्पष्ट रूपमा केही भन्न सकिरहेका थिएनन् ।

गाउँबाट अब सम्हालिनुपर्छ भनेर फोन आउँदा भने उहाँका मनमा चिसो पस्न थाल्यो । तर पनि उहाँलाई परिवारका सदस्य कतै जङ्गलमा बस्नुभएको होला, फर्किहाल्नुहुन्छ होला भन्ने लागिरह्यो । दिन बित्दै गए । परिवारका सदस्यको अवस्था पत्ता लागेन । शव पनि फेला परेनन् । कुशको शव बनाएर काजकिरिया गरियो ।

“अहिले पनि मनले उहाँहरू हुनुहुन्न भन्ने मान्न सकेको छैन । कतै जङ्गल या ओडारमा बसिरहनुभएको छ कि भन्ने लाग्छ । कहिलेकाहीँ फोन हेर्न मन लाग्छ । अब दसैँमा घर आउनु भनेर फोन गर्नुहुन्छ कि जस्तो लाग्छ”, उहाँ भन्नुहुन्छ ।

बहिनी हिमानी चीनमा सिभिल इन्जिनियरिङ पढ्दै हुनुहुन्थ्यो र बिदामा घर आउनुभएको थियो । बाढी आएको दिन उहाँ काकासँग काठमाडौँ आउने तयारीमा हुनुहुन्थ्यो । पन्ध्र किलोमिटर टाढा पढाउने भएकाले बुबा स्कुलनजिकै बस्नुहुन्थ्यो । त्यस दिन भने भतिजीलाई बिदा गर्न घर आउनुभएको रहेछ । त्यही दिन आएको बाढीले सबैलाई बगाएर लग्यो ।

निराजनका गाउँका ७८ जना अझै बेपत्ता हुनुहुन्छ । अब विपत्तिले दिएको यो मानसिक पीडा कसरी कम गरेर अगाडि बढ्ने भन्ने लागिरहेको छ उहाँलाई । उहाँका अनुसार यस्तो विपत्तिबाट प्रभावित मानिसलाई मानसिक रूपमा सम्हालिन समय र राज्यको सहयोग दुवै आवश्यक छ ।

“हामीलाई अब राज्यको अभिभावकत्व चाहिएको छ । घर कहाँ बनाउने ? कसरी बस्ने ? कसरी जीवन चलाउने ? भन्ने आधार चाहिएको छ । कतिपय बालबालिकाले अभिभावक गुमाएका छन् । उनीहरूलाई कसरी सम्झाउने र उज्ज्वल भविष्य कसरी निर्माण गर्ने भन्ने पनि सोच्नुपर्छ”, उहाँको सुझाव छ ।

  • काठमाडौँ
  • नुवाकोट
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

    सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

  • मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

  • Post Thumbnail

    आरुघाटमा बेलीब्रिज जडान गरिँदै

  • Post Thumbnail

    बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

    सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

    Post Thumbnail

    चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

    Post Thumbnail

    सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

    Post Thumbnail

    दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution