
काठमाडौँ, १९ असोज : एमबिबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनः आमरण अनशनमा बस्नुभएको छ ।
सहमति भएको दुई महिना बितिसक्दा पनि माग कार्यान्वयन नभएको भन्दै उहाँ अनसन बस्नुभएको हो । एमबीबीएस÷बिडिएस इन्टर्न चिकित्सकसँग भएको पाँचबुँदे सहमति कार्यान्वयनको माग गर्दै उहाँले चिकित्सा शिक्षा आयोगको प्राङ्गणमा आमरण अनशन सुरु गर्नुभएको हो ।
उहाँले आन्दोलनरत चिकित्सकले पटक–पटक ध्यानाकर्षण गराउँदा अपेक्षित रूपमा गम्भीर पहल तथा निर्णय नभएको आरोप लगाउँदै आफ्ना जायज मागको सुनुवाइ र कार्यान्वयनका लागि पुनःआमरण अनशन सुरु गर्न बाध्य भएको बताउनुभयो । इन्टर्न चिकित्सकको पारिश्रमिक र श्रमको मूल्याङ्कन गर्नुपर्नेलगायतका माग राखेर उहाँले गत साउन १९ गते माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको थियो । सरकारले साउन २२ गते पाँचबुँदे सहमति गरेपछि उहाँले अनशन तोड्नुभएको थियो ।
हरिजनले आफ्नो माग व्यक्तिगत नभई हजारौँ एमबिबीएस तथा बिडिएस विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्यसँग जोडिएको विषय भएको बताउनुभयो । सहमति कार्यान्वयन भएमा त्यसको सकारात्मक प्रभाव आगामी पुस्ताका विद्यार्थी तथा चिकित्सकसम्म पुग्ने बताइन्छ ।
एमबिबीएस, बिडिएसलगायत एकवर्षे इन्टर्नसीपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गर्ने, स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने, एमबिबीएस तथा बिडिएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्य घण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनेलगायत पाँचबुँदे सहमति भएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |