
तेह्रथुम, १९ असोजः आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ । नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरी गाउँपालिकाले नगर बस सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभयो । नगर बस सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु ६० लाख रकम विनियोजन गरेको थियो ।
उक्त नगर बस आठराई गाउँपालिकाको केन्द्र, सक्रान्ति बजारदेखि पाँचथर सदरमुकाम फिदिमसम्म दैनिक सञ्चालन हुने बताइएको छ । सक्रान्तिदेखि फिदिमसम्मको भाडादर रु २०० निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष बलिराज इङ्नामले बताउनुभयो । सक्रान्ति–फिदिम बीचको दूरी करिब ३५ किलोमिटर रहेको छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा विद्यार्थी परिचयपत्र बोकेका विद्यार्थीलाई भने निःशुल्क सेवा दिइने उपाध्यक्ष इङ्नामले बताउनुभयो ।
त्यसैगरी, अपाङ्गता भएकाका लागि भाँडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त नगर बस हरेक दिन बिहान ८ः०० बजे सक्रान्ति बजारदेखि छुट्नेछ भने फिदिमदेखि अपराह्न ३ः०० बजे आठराई फर्किने गाउँपालिकाका प्रवक्ता एवम् ६ नं वडाअध्यक्ष कृष्णप्रसाद बाँस्कोटाले बताउनुभयो ।
आठराई गाउँपालिकावासीको मुख्य बजार छिमेकी जिल्ला पाँचथरको फिदिम भएकाले उक्त रुटमा नगर बस सञ्चालमा ल्याइएको हो । यसको लागि पाँचथरको फिदिम नगरपालिकाको पनि साझेदारी रहेको जनाइएको छ ।
नगर बस सञ्चालनमा आएसँगै नागरिकको आवागमन सहज र सुरक्षित हुनाका साथै पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, व्यापार–व्यवसाय विस्तार तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष दिलकुमारले बताउनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस)

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |