
म्याग्दी, ११ असोजः
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको हुमखोलास्थित रेष्टुरेन्टका सञ्चालक तेज गुरुङलाई यसअघिका वर्षहरूमा असोजको पहिलो सातादेखि नै फुर्सद हँुदैनथ्यो ।
असोज–कात्तिकको शरदयाम भ्रमणका लागि आउने पाहुनाहरूको स्वागत, सत्कार र व्यवस्थापनमा सक्रिय हुनुपर्ने समयमा गुरुङ होटल बन्द गरेर नारच्याङस्थित घरमा झरेको शनिबार चार दिन पुगेको छ ।
“मुख्य पर्यटक यामको मुखमा आएको रसुवा बाढीका कारण धेरै विदेशी पर्यटकले नेपालको भ्रमण रद्द गरेका थिए, अलिअलि आउन थालेका पर्यटकलाई पनि केही दिनदेखिको झरीले रोकेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो एक वर्षयता पर्यटन व्यवसाय लयमा फर्कन सकेको छैन ।”
गत वर्षको शरदयामको सम्मुखमा भएको नवयुवा आन्दोलन, वसन्तयाममा रुस–युक्रेन द्वन्द्वको असर तथा यसपालि भोटेकोशी बाढी र झरीका कारण म्याग्दीका पर्यटकीयस्थलमा चहलपहल बढ्न सकेको छैन । घोडेपानी पुनहिल, धवलागिरि चक्रीय, ढोरपाटन, गुर्जा, गुरिल्ला, अन्नपूर्ण–धवलागिरि, खोपारा, तातोपानी कुण्ड, टोड्के, रुप्सेलगायत पर्यटकीयस्थल हिजोआज सुनसान बनेका छन् । झरीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले पाहुना र पर्यटक रोकिएका बेनी–जोमसोम सडकअन्तर्गतको भुरुङ्ग–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले बताउनुभयो ।
“पर्यटन व्यवसायी र मजदुरमात्र नभएर तरकारी उब्जाउने किसान, दूध बेच्ने किसानदेखि माछा मारेर जीविकोपार्जन गरेकाहरूलाई यसले असर पुगेको छ”, उहाँले भन्नुभयो । सोह्श्रद्धाको समयमा नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरू दिवङ्गत पितृहरूको नाममा पिण्ड दान गर्नका लागि मुस्ताङको कागबेनी जाने गर्छन् । गत वर्ष सोह्श्रद्धाअघि भएको नवयुवा आन्दोलनका कारण अपेक्षाकृत सङ्ख्यामा पिण्डदानका लागि भक्तजन सडकमार्ग भएर मुस्ताङ जान पाएका थिएनन् ।
यसपालि सडक अवरोधको असर सोह्श्राद्धको समयमा कागबेनीमा पिण्डदान गर्न जाने भक्तजनहरूमा पर्ने देखिएको व्यवसायी शेरचनको भनाइ छ । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले यसपालिको सिजन बाह्य पर्यटकको कमी हुने देखिएको बताउनुभयो ।
“भोटेकोशी बाढीपछि धेरै पर्यटकहरूले बुकिङ रद्द गरेका छन्”, उहाँले भन्नुभयो, “भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावितबाहेकका जिल्लाका पर्यटकीयस्थल सुरक्षित छन् भन्ने सन्देश विश्वसामु नपुग्दा नकारात्मक असर देखिएको हो ।”
विगतका वर्षमा घोडेपानी नजिकैको पुनहिलमा असोजमा दैनिक ५०० जनाको हाराहारीमा पर्यटक दृष्यावलोकन गर्न जाने गरेकामा यसपालि त्यो सङ्ख्या १०० जनाको हाराहारीमा रहेको पुनले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, लालीगुराँसको जङ्गल अवलोकनका लागि प्रसिद्ध छ ।
झरीसँगै प्रतिकूल मौसम र हिमपातका कारण म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७) मिटर अग्लो धवलागिरि हिमालमा आएका पर्वतारोहीहरू फर्किएका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ ।
आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले आधार शिविरमा रहेका ३० जनाको विदेशी पर्वतारोही टोली बिहीबार फर्किएका जानकारी दिनुभयो । “असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि आरोहण टोली सुरक्षित ठाउँमा फर्किएका हुन्”, उहाँले भन्नुभयो, “चार दिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन् ।”
‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार ३० जना विदेशी पर्वतारोही टोली धवलागिरिको आधार शिविर पुगेका थिए । मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई पनि बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण जोखिमयुक्त क्षेत्र पहिचान गरेका छन् ।
पर्यटन विभागले सार्वजनिक सूचना जारी गरेर हिमाली क्षेत्रमा रहेका पर्वतारोहीहरूलाई सतर्कता अपनाउन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मौसम अनुकूल नहुँदासम्मका लागि आधार शिविरतर्फ नजान अनुरोध गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरू पनि फर्किएका र बिहीबारदेखि पदयात्रा बन्द गरिएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |