सिन्धुली, १६ पुसः
ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।
सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक २०० भन्दा बढी पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, सिन्धुली शाखाका अध्यक्ष उद्धव श्रेष्ठका अनुसार गढी दरबार, अन्य ऐतिहासिक संरचनाको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय सञ्चालनमा आएपछि पर्यटकको आगमन निरन्तर बढिरहेको छ ।
उहाँका अनुसार नागबेली सडक यात्रा पार गरी पुगिने सिन्धुलीगढी वर्षभरि कुहिरो र प्राकृतिक दृश्यको रमणीय संयोजनका कारण पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । गर्मी र जाडो दुवै मौसममा तराई क्षेत्रका जिल्लाबाट आउने पर्यटकहरू यहाँको मौसम, शीतल हावा र ऐतिहासिक महत्वबाट प्रभावित हुने गरेका छन् ।
हाल जुनार तथा सुन्तलाको मौसम रहेकाले सिन्धुलीगढी आउने भारतीय तथा आन्तरिक पर्यटकहरूले स्थानीय उत्पादनलाई उपहारका रूपमा लैजाने गरेका स्थानीय व्यापारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुलीका जुनार, सुन्तला तथा स्थानीय तरकारीले यहाँको आर्थिक गतिविधिमासमेत सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ ।
नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज मानिने सिन्धुलीगढीमा सङ्घीय संरचनापछि उल्लेखनीय पूर्वाधार विकास गरिएको छ । कमलामाई नगरपालिका मातहतमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाको करिब रु आठ करोडको सहयोगमा युद्ध सङ्ग्रहालय निर्माण भएपछि पर्यटकको चाप बढेको हो । सङ्ग्रहालयमा तोप, घरेलु हातहतियार, युद्ध सामग्री तथा युद्धसम्बन्धी वृत्तचित्र प्रदर्शनीमा राखिएका छन् ।
विशेषगरी अङ्ग्रेजी तथा नेपाली नयाँ वर्ष, शनिबार र अन्य सार्वजनिक बिदामा सिन्धुलीगढीमा एक हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका व्यापारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक वर्षमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, श्रीलङ्का, पाकिस्तान र भारतलगायत देशका विदेशी पर्यटकसमेत सिन्धुलीगढी पुग्न थालेका छन् ।
कमलामाई नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर खत्रीका अनुसार सिन्धुलीगढी भ्रमणमा आउने पर्यटकहरूले युद्ध सङ्ग्रहालय, रानी दरबार, ठुँडो दरबार, गणेश हिमाल, तराईका फाँट तथा महाभारत क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटीको अवलोकन गर्न सक्छन् ।
सिन्धुलीगढीको ऐतिहासिक महत्व, प्राकृतिक सौन्दर्य र पूर्वाधार विकासले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थालेको स्थानीयवासीको भनाइ छ ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |