म्याग्दी, १६ पुस :
जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ ।
सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दीर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’ प्रबिधिको पर्खाल निर्माण सुरु गरेको हो ।
राहुघाट नदीको किनारमा ५३ मिटर दुरीमा नदीको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाईको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाउन लागिएको आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो । रु. दुई करोड १३ लाख ६६ हजार आठ सय ७८ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि २०८२ भदौ ४ गते निर्माण कम्पनीसँग रु. एक करोड ४२ लाख ५३ हजार छ सय ४६ मा ठेक्का सम्झौता भएको छ ।
आगामी २०८३ असार २५ गतेभित्र योजना निर्माण सम्पन्न गर्ने ठेक्काको अवधि छ । कम्पनीले राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिसकेको छ ।
गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको छ । साधु, सन्तहरु ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ । गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तिर्थयात्रीहरुलाई बसोबासको ब्यवस्था मिलाइएको छ ।
यस वर्ष बेनी सहित म्याग्दी र कालिगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु भएका आयोजना कार्यालयका प्रमुख बिदुुरमान श्रेष्ठले बताउनुभयो ।
ती योजनाको ठेक्का सम्झौता भइ निर्माणका लागि निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भइसकेका छन् । ती आयोजनाहरुको कुल लागत अनुमान रु. २० करोड २९ लाख ७६ हजार आठसय ३९ रहेको छ ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |