लुसिफर बारे बाईबलको इजिकेल २८ (Ezekiel-28) र आजिया १४ (Isaiah-14) मा उल्लेख गरिएको छ । जसका अनुसार स्वर्गमा गड (न्यम) अर्थात् प्रभुको राज हुन्छ । प्रभुले भन्नुभएको सबै कुरा मान्नुपर्छ, उहाँको वचन सत्य वचन हुन्छ, त्यो नमान्ने जोकोही पापी हुन्छ भन्ने मान्यता छ । प्रभुले गलत नै भन्नुभयो या गलत नै गर्नुभयो भने पनि त्यो कुनै पुनित उद्देश्यको लागि गरिएको हुन्छ, त्यो पनि सही नै हुन्छ ।
भगवानले गल्ती गर्नुहुन्न भन्ने मान्यता हुन्छ । त्यहि ग्रन्थमा लेखिएको एउटा पात्र हो “लुसिफर“ त्यस्तो असाधारण पात्र जो पहिले शक्तिशाली, प्रिय, तेजस्वी देवदूत थिए तर पछि जब ऊ विद्रोही बन्छ, स्वर्गको व्यवस्था माथि प्रश्न गर्छ, वैकल्पिक विचार राख्छ, अरूलाई पनि प्रभुहरूको विरुद्धमा उकास्न सुरु गर्छ अनि उसलाई फरक विचार राखेकै कारण र विरुद्ध गएकै कारण, विद्रोह गरेकै कारण अन्त्यमा लुसिफरले सजाय पाउँछ । उ स्वर्गबाट निष्कासित हुन्छ र नर्कमा झारिन्छ । त्यसपछि उ सैतान करार गराइन्छ । उ सैतान बन्छ ।
यी त भए बाईबलको कुरा अब यता नेपालपट्टि फर्केर बालेनलाई हेरम उनी कसरी ‘लुसिफर’बने ?
२०७९ सम्म काठमाडौं महानगर राजनीतिक दलहरूको सर्कलमा सीमित थियो । स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना लगभग असम्भवजस्तै थियो । तर एउटा युवा–इन्जिनियर, र्यापर, अनि चलिरहेको सिस्टमको आलोचक लौरो बोकेर काठमाण्डौ महानगरपालिकाको मेयरको उम्मेदवार बनेर आउँछन् ।
पुराना दलप्रति वितृष्णा, सुशासनप्रतिको आकांक्षा, नयाँ पुस्ताको नेतृत्वको भोका काठमाण्डौबासीले उनलाई भारी मत दिन्छन् उ उनी काठमाण्डौको मेयर बन्छन् । इतिहासमै पहिलोपटक एक स्वतन्त्र उम्मेदवार काठमाडौं महानगरको कार्यकारी प्रमुख बन्छन् उनी ।
उसले चुनाव अगाडी शहर फोहरमुक्त बनाउने, सडकको ट्राफिक समस्या चुट्किमा समाधान गर्ने, असफल प्रणाली भत्काउने नारा बोकेर आएका थिए तर समय बित्दै जाँदा उनले भनेजसरी काम गर्न सजिलो भने थिएन ।
तर समय बित्दै जाँदा ऊ आफैं प्रश्नको घेरामा परेः कुरा ठूलो, काम सुस्त भन्दै यदाकदा बालेनकै पनि बिरोध हुन थाल्यो ।
यसो त महानगरभित्रका समस्या सामान्य भने थिएनन् । फोहोर माथिको फोहरी राजनिती, ठेक्काको राजनीति, भूमाफियाको जालो, सडक, पार्किङ, फुटपाथदेखि नीति–निर्माण तहसम्मै फैलिएको राजनितीरुपी ऐजेरू उनले उखेलेर मिल्काउन सकेनन् । घुसखोरी प्रणाली, भागबन्डा, पार्टीहरुको हस्तक्षेप, योजनागत अवरोध जस्ता कुराहरुले उनलाई निरन्तर घोचिरहे र उनी ’र बार्ज (Raw barz)’ ताकाका ¥याप ब्याटलको बालेन जसरी आक्रामक हुन थाले ।
उनले फेसबूकमा कहिले “सिंहदरबार जलाईदिन्छु“ त कहिले “नेताहरुलाई सिसडोल डम्प गर्नुपर्छ“ भन्न थाले । कहिले उनी फिल्ममा भएको एउटा दृष्यलाई लिएर फिल्म नै काण्ठमाण्डैमा ब्यान गर्नुपर्छ भन्दा अदालतले उनको निर्णय उल्ट्याईदिएको झोकमा न्यायापालिकामाथि पनि खनिन थाले । अझ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनताका उनले लेखेका स्टाटस र आन्दोलनलाई गरेका सांकेतिक समर्थनले त उनलाई अझ धेरै अलोचित बनाए । उनले सिंहदरबार जलाईदिन्छु भनेर स्टाटस लेखेको २ बर्षपछि आन्दोलनको बेला साँच्चिकै सिंहदरबार जलेको बेलाचाहिँ निभाउन गएनन् भनेर गालिको बर्षा नै हुनथाल्यो । उनले युवाहरुलाई उचाले अनि आन्दोलन उग्र बनेर बिध्वंस मच्चिएपछि एकाएक गयाव भए भन्ने आरोप लाग्न थाल्यो । झनै मध्यरातमा आएको र केही बेरमै डिलिट भएको फेसबूक स्टतसले त झन् तहल्कै मच्चायो । यस्तै यस्तै कारणले “हिरो बालेन” लाई कहिले “डिक्टेटर” त कहिले “लुसिफर” जस्तो नाम दिईन थालेको पाईन्छ । – तीन वर्षको कार्यकालमा बालेनमाथि चुनावताका गरेका वाचा कति पूरा भए ? – फोहोर समस्या समाधानबारे के भयो ? – प्लास्टिक–अस्फाल्ट मिसाएर पिच गर्ने योजना कता पुग्यो ? – अर्गानिक फोहोरलाई मल बनाएर बजारमा बेच्ने योजना के भयो ? – अहिले सम्म किन लागू भएन ? – ट्राफिक व्यवस्थापन ? – स्कुल–अफिस समय फरक गर्ने नीति किन लागू भएन ? – २४ घण्टै ‘लाइभ सिटी’ योजना कहाँ पुग्यो ? – चुनाव पछाडी पत्रकार भेट्न किन बन्द भयो ? – किन जनसम्पर्क कमजोर भयो ?
भन्नेजस्ता प्रश्नहरुको चाङ छ । यी प्रश्न आधारहीन भने होइनन् । महानगर पनि एउटा सरकार हो । बजेट छ, कार्यकारी अधिकार छ, सरकारमा हुनुपर्ने तिनओटै अंगहरु पनि छ । त्यसैले अवरोध कसले गरे ? कसरी गरे ? कुन ठाउँमा रोकावट आयो ? भन्नेजस्ता जवाफ अब यो बालेन आफैंले स्पष्ट रुपमा भन्नैपर्छ ।
किनकि नेतृत्व जवाफदेहि नहुँदा अविश्वास बढ्छ, अनि अविश्वासले नै बालेनलाई लुसिफरको बनाएको हो ।
अबको मुख्य प्रश्न, “बालेन असफल व्यक्ति हुन् कि असफल प्रणालीका कैदी ?” बालेनको नियतमा शंका कमै छ । भ्रष्टाचारको प्रमाण पनि आएको छैन, खास्सै निजी स्वार्थ पनि देखिँदैन । तर नियतले मात्रै भने शहर चल्दैन। काम गर्न बाधा पु¥याउने संरचनागत समस्याहरू, राजनीतिक घेराबन्दी, कर्मचारीतन्त्र, कानुनी दायरा–सबै जनतासमक्ष स्पष्ट हुन जरुरी छ । यो जनतामाझ स्पस्ट पार्नु नै पर्छ ।
अहिले हामिले बुझ्नुपर्ने मूल कुरा ’नेपालमा समस्या व्यक्तिको होइन, सिस्टमको हो ।’ त्यही सिस्टमले लुसिफर जन्माउँछ, अनि त्यही सिस्टमले लुसिफरलाई सैतानको रूपमा चित्रित गर्छ । बालेनले नै भनेजसरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री आए पनि वरिपरि यस्तै संरचना रहिरह्यो भने सिंहदरबारमा पनि ‘१०० नयाँ लुसिफर’ जन्मिनेछन् । किनकी बालेन आफैंमा जननिर्वाचित मेयर हुन्, स्थानीय सरकार प्रमुख । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तर अहिलेको संरचनाले उनी लुसिफर बन्न पुगे ।
अन्त्यमा
सौरभ–टीकारामको पोडकास्टबाट सुरू भएको “लुसिफर” को मिथक अहिले राजनीतिक भाष्य बन्न पुगेको छ ।
तर वास्तविक लुसिफर को हो ?
आज्ञापालन नगर्ने बालेन ?
वा आलोचना सहन नसक्ने सत्ताको मानसिकता ?
लोकतन्त्रमा “विद्रोह” शब्द गलत होइन,
तर “जवाफदेहिता” अनिवार्य छ ।
आजको प्रश्न सरल
हिजोको हिरो किन आजको लुसिफर भयो ?
र लुसिफर बन्न बाध्य बनाईयो कि आफैं बने ?
यसको उत्तर खोज्नु बालेनका लागि मात्रै होइन, नेपालका आगामी कार्यकारीहरूका लागि पनि अपरिहार्य छ । प्रस्तुत भनाईहरु लेखकका निजी बिचारहरु हुन् ।




प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
| प्रधानसम्पादक : | बद्रि अधिकारी |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |