
धादिङबेशी,२८ मंसिर । नीलकण्ठ नगरपालिका–२, सिउँदीबार पुग्ने जो–कोहीको ध्यान त्यहाँको हरियाली र लटरम्म पाकेका सुन्तला–जुनारले सजिलै ताने गर्छ । त्यहि सबैको ध्यान तान्ने बगैंचाका मालिक हुन् तोयनाथ अधिकारी, जसलाई धेरैले बद्री दाइ भनेर चिन्छन् । करिब दुई दशकदेखि निरन्तर कृषि क्षेत्रमा लागिरहेका बद्री दाइ आज आत्मनिर्भर कृषिको जिउँदो उदाहरण बन्नुभएको छ ।
उहाँको बगैंचामा हाल करिब १५० हाराहारीमा सुन्तला र जुनारका बोट छन् । बर्सेनी पुराना बोट मर्ने र नयाँ बिरुवा रोपिँदै जाने भएकाले ठ्याक्कै संख्या भन्न गाह्रो भए पनि उत्पादन भने उल्लेख्य छ । अघिल्लो वर्ष मात्र सुन्तला र जुनार बिक्रीबाट करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको उहाँले यस वर्ष पनि आधाभन्दा बढी सुन्तला बिक्री भइसकेको र अब बाँकी सुन्तला र जुनार बेचिसकेपछि पुसतिर मात्र यकिन आम्दानीको हिसाब हुने उहाँ बताउनुहुन्छ ।
यो बर्ष पनि ५-७ लाख त कसो न आउला र भन्नेमा उहाँ ढुक्क देखिनुहुन्छ । फलफूलमै सीमित नरही बद्री दाइले अन्तरबालीको रूपमा तरकारी खेती पनि गर्दै आउनुभएको छ । उहाँको फार्ममा बाह्रै महिना सिजनल र अफ–सिजन तरकारी उत्पादन हुन्छ । “यहाँ सुन्तला, जुनार, कागती र तरकारी संधै उत्पादन भैरहेकै हुन्छ त्यसैले अहिले नै कति आम्दानी भयो भनेर ठोकुवा गर्न गाह्रो छ,” उहाँ भन्नुहुन्छ । यही विविधिकरणले जोखिम घटाएको र आम्दानी स्थिर बनाएको उहाँको अनुभव पनि छ ।
१८–२० वर्षको कृषि यात्रामा बद्री दाइले एउटा दृढ अठोट नै गर्नुभएको छ कि “जीवन कृषि क्षेत्रमा नै समर्पण गर्ने । आफ्ना परिवारका सदस्यलाई पनि यही क्षेत्रमा प्राविधिक रूपमा दक्ष बनाउँदै अगाडि बढाउने” । उहाँका अनुसार, समस्या सोच्ने हो भने धेरै देखिन्छन्, तर सम्भावना झन् धेरै छन् । “हाम्रो देशमा केही गर्न सकिँदैन भन्ने ट्रेन्ड छ, यसलाई हामीले तोड्नैपर्छ,” बद्री दाइको अनुसार “कृषि, पर्यटन, जलविद्युत्, उत्खनन—यी सबै क्षेत्रमा अपार सम्भावना छन् बस् हामिले त्यसको सदुपयोग गर्न सक्नुपर्यो ।” उहाँको चिन्ता आजको युवा पुस्ताको विदेशमुखी सोच प्रति पनि छ । विदेशी भाषा र विदेशकै सपना मात्र देखाउने शिक्षा नीतिभन्दा स्वदेशमै उत्पादन, प्रशोधन र बजारीकरण सिकाउने शिक्षा आवश्यक रहेको उहाँको धारणा छ ।
सीप र दक्षता भए स्वदेशमै पनि राम्रो गर्न सकिन्छ । योजना बनाएर अघि बढे कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको उहाँले बताउनुहुन्छ । यद्यपि कृषि क्षेत्रमा चुनौती पनि कम भने छैनन् । बद्री दाइ सरकारी नीतिगत कमजोरीलाई पहिलो चुनौतीका रूपमा देख्नुहुन्छ । समयमा बीउ नपाइनु, मलखादको अभाव, प्राविधिक जनशक्तिको कमी र ग्रामीण सडकको कमजोर अवस्थाले किसानलाई हैरान बनाएको उहाँ बताउनुहुन्छ । “उत्पादन भएको वस्तु २४ घण्टाभित्र बजारसम्म पुर्याउन सकिने सडक भए किसानको लागत घट्थ्यो, उपभोक्ताले पनि ताजा खान पाउँथे” उहाँको अनुभव छ । तर चुनौतीकै बीच पनि समाधान खोज्दै अघि बढ्नुपर्ने उहाँको धारणा छ ।
बद्रि दाईको अनुसार “सरकार अभिभावक हो, उसले गर्नैपर्छ । तर किसान आफैंमा पनि चुनौती सामना गर्ने क्षमता हुनुपर्छ,” । चुनौती नभएको क्षेत्र नै नहुने भएकाले समस्या देखेर पछि नहट्ने उहाँको विश्वास छ । लटरम्म फलले ढाकिएको बगैंचामा सधैं व्यस्त देखिने बद्री दाइ आज केवल एक सफल किसान मात्र होइनन्, स्वदेशमै श्रम र सीप लगानी गरे आत्मनिर्भर बन्न सकिन्छ भन्ने आशाको प्रतीक पनि हुन् । सिउँदीबारको त्यो बगैंचाले फल मात्र होइन, देशमै सम्भावना छ भन्ने सन्देश पनि फलाइरहेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |