
काठमाडौँ, २६ मङ्सिर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकिएको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने जनाइएको छ । पार्टीको एकता महाधिवेशनका क्रममा नयाँ नियमावली निर्माण गर्ने समझदारी भएको थियो ।
राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ । बैठकमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचन लगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी गर्न सुझाव सङ्कलनका विषयमा पनि छलफल हुने छ ।
पार्टीले उठाउँदै आएको समान विचार राख्ने राजनीतिक दलहरू, सङ्घसंस्थासँग समन्वयका लागि भएका कार्ययोजना तथा प्रगति विवरणका बारेमा जानकारी गराइने छ । बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन तथा महामन्त्री धवलशम्शेर राणाले देशभरको साङ्गठनिक योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुहुने नेता श्रेष्ठले बताउनुभयो ।
उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीतिक, सामाजिक, आर्थिक अवस्थामा समीक्षा गरिने र संसद्मा पार्टीले निर्वाह गरेको भूमिकाबारे केन्द्रीय नेतालाई जानकारी गराएर सङ्गठन सुदृढीकरणका लागि रणनीति तय गरिने जानकारी दिनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |