
धनुषा, २६ कात्तिकः मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या देखिएको छ ।
बहुआयामिक वञ्चितीकरण भन्नाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपनी सरसफाइ, आवास र सूचनाको पहुँचजस्ता अधिकारबाट एकै साथ वञ्चित हुने अवस्थालाई बुझाउँछ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार प्रदेशका २१ दशमलव तीन प्रतिशत बालबालिका विभिन्न प्रकारका अभाव र वञ्चितीकरणबाट प्रभावित छन् ।
बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा समग्र विकासको अवस्थालाई विश्लेषण गर्दा मधेस प्रदेशको स्थिति चिन्ताजनक देखिएको हो ।
विशेषगरी पाँच वर्षमुनिका वालबालिकामा कुपोषणको समस्या र साना बालबालिकाले पर्याप्त तथा विविधतायुक्त आहार नपाउने अवस्थाले शारीरिक तथा मानसिक विकासमा चुनौती थपेको छ ।
मधेस प्रदेशमा पाँच वर्षमुनिका २६ दशमलव दुइ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या देखिएको छ । त्यस्तै, छ देखि २३ महिनासम्मका ६० दशमलव सात प्रतिशत शिशु तथा बालबालिकाले उमेरअनुसार आवश्यक पर्ने पर्याप्त र विविधतायुक्त आहार पाउन सकेका छैनन् ।
बालबालिकाको उमेरअनुसार आवश्यक पोषणयुक्त खाना उपलब्ध नहुँदा उनीहरूको वृद्धि विकास प्रभावित हुने जोखिम रहन्छ ।
बाल्यावस्थामा हुने पोषणको कमीले तत्कालीन स्वास्थ्यमा मात्र नभई भविष्यमा सिकाइ क्षमता, शारीरिक वृद्धि र सामाजिक अवसर प्राप्त गर्ने क्षमतासमेत प्रभावित गर्न सक्छ ।
मधेस प्रदेश नीति तथा योजना आयोगका सदस्य नवल यादवले सम्भावनाले भरिपूर्ण प्रदेशमा बालबालिकाको अवस्था कमजोर रहनु चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले वालबालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, पोषण तथा आधारभूत सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
बालबालिकाको वास्तविक आवश्यकता र समस्यालाई केन्द्रमा राखेर नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गर्नसके मात्र अपेक्षित सुधार ल्याउन सकिने उहाँको भनाइ छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले बहुआयामिक वञ्चितीकरण न्यूनीकरणका लागि शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तारसँगै डिजिटल साक्षरतामा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार वालबालिकाको जीवनस्तर सुधार गर्न आधारभूत सेवाको उपलब्धता र पहुँच सुनिश्चित गर्नु आवश्यक छ । आर्थिक रूपमा विपन्न परिवारका बालबालिका तथा कम शैक्षिकस्तर भएका आमाका सन्तान बहुआयामिक वञ्चितीकरणको बढी जोखिममा रहने गरेको देखिएको छ ।
परिवारको आर्थिक अवस्था, आमाको शैक्षिक स्तर र आधारभूत सेवाको उपलब्धताले बालबालिकाको स्वास्थ्य, पोषण तथा शैक्षिक अवसरमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।
गरिबी, पोषणयुक्त खानाको अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच र शिक्षाको कमजोर अवस्थाले बालबालिकाको बिकासमा समस्या सिर्जना गर्ने गरेका छन् ।
बालबालिकाको अवस्था सुधारका लागि तथ्याँङ्कमा आधारित योजना निर्माण, पोषण तथा स्वास्थ्य सेवाको विस्तार, गुणस्तरीय शिक्षामा पहुँच र सुरक्षित खानेपानीको व्यवस्था महत्त्वपूर्ण पक्ष हुन् । बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षा र संरक्षणलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने आवश्यकता तथ्याङ्कले औँल्याएको छ ।
उनीहरुको वञ्चितीकरण घटाउन समयमै प्रभावकारी कदम चाल्न नसके यसको असर आगामी पुस्ताको स्वास्थ्य, शिक्षा र समग्र मानव विकासमा समेत पर्ने देखिन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय (एनओसी) र युनिसेफ नेपालले सन् २०२६ सेप्टेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको २१ दशमलव चार प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा रहेको देखाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |