
काभ्रेपलाञ्चोक, ११ कात्तिकः बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा पुगेको छ । केन्द्रमै हप्ता दिनदेखि रगत अभाव भएकाले ‘ह्वाइट–ब्लड’बाहेक अन्य रगत उपलब्ध गराउन असमर्थक रहेको जनाएको छ ।
कार्यालयका अनुसार ह्वाइट–ब्लड भने एक सय यूनिट मोज्दात रहेको छ । “केन्द्रमा ह्वाइट–ब्लडबाहेक एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ, दुई सय युनिट राखिएकोमा दसैँको बेला सबै सकियो”, रेडक्रसका कार्यालय प्रमुख गोकुल बानियाँले भन्नुभयो । उहाँका अनुसार रगतका लागि दसँै सकिएलगत्तै लगातार केन्द्रमा फोन आइरहेको छ । रगतको मुख्य बैंकका रुपमा रहेको रेडक्रसको उक्त केन्द्रमा रगत नहुँदा समस्या भइरहेको बानियाँले बताउनुभयो ।
रेडक्रसले सात सय युनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आए पनि नियमित रुपमा रक्तदाता नहुँदा रगतको अभाव भइरहेको जनाइएको छ । रक्तदान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्न थालेपछि अभाव हुन थालेको केन्द्रले जनाएको छ । रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको स्थानीयको भनाइ छ ।
केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगत नभएको र भए पनि पर्याप्त मात्रामा नहुने भएकाले अभाव पूर्ति गर्न कठिनाइ भइरहेको छ । “कहिलेकाहीँ सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ”, थापाले भन्नुभयो । उहाँका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभी’, ‘एबी–पोजेटिभी’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको छ । रगत अभाव हुन थालेपछि तत्काल रगत उपलब्ध गराउन पर्ने बिरामी समस्यामा पर्ने गरेका छन् ।
जिल्लामा रगत अभाव भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौँबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहे पनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा समेत रगत अभाव रहेको सूचना प्राप्त भएको बानियाँले बताउनुभयो । जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् ।
जिल्लाका सबै अस्पतालमा सामान्यदेखि विशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यकता पर्ने गु्रपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाई समेत समस्या हुने गरेको पाइएको छ ।
यहाँ सञ्चालित छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुनौतीपूर्ण बनिरहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |